काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का पूर्व अध्यक्ष सेप ब्लाटरले आफूविरुद्ध चल्न सक्ने सम्भावित कुनै पनि छानविनलाई लिएर मुख खोलेका छन् र भनेका छन्, ‘म डराउँदिन् ।’
एक स्विस साप्ताहिक पत्रिकामा आइतबार उनको सनसनीपूर्ण अन्तर्वार्ता छापिएको छ र त्यसमा उनले आफूविरुद्ध लागेको भ्रष्टाचारको आरोपविरुद्ध लडिरहने दाबी पनि गरेका छन् ।
अहिले ब्लाटर ८५ वर्षका भए र उनीमाथि स्विटरल्यान्डको संघीय छानविन आयोगले केही समय अगाडि चार दिन सोधपुछ गरेको थियो । सोधपुछको विषय रहेको छ, एक दशक अगाडि गरिएको एउटा भुक्तानी रहेको छ । एक दशक अगाडि विश्व खेलकुदलाई स्तब्ध पार्ने गरेर एउटा तथ्य बाहिर आएको थियो र त्यस अनुसार युरोपेली फुटबल महासंघका तात्कालीन अध्यक्ष मिचेल प्लाटिनीलाई २२ लाख डलर दिइएको थियो ।

सन् २०१५ मा उनलाई फिफाबाट आठ वर्षको प्रतिबन्ध लागेको थियो, जुन पछि छ वर्षमा झारिएको थियो । स्विटरल्यान्डको त्यही संघीय छानविन आयोजले ब्लाटरमाथि फेरि छानविन गर्न सक्ने बताइएको छ । उसले थप छानविन गर्ने हो अथवा पूरा मामलालाई वन्द गर्ने हो, त्यसबारे निर्णय भने भएको छैन् ।
पछिल्लो डिसेम्बर र जनवरीबीच उनले दुई महिना अस्पतालमा बिताएका थिए । उनको मुटुको शल्यक्रिया गरिएको थियो । अहिले पनि उनी शारीरिक रूपमा कमजोर रहेको बताइएको छ । तर पनि ब्लाटर आफूविरुद्ध लागेको अभियोगबारे डटेर लड्न चाहन्छन् । उनले अन्तर्वार्तामा भनेका छन्, ‘मेरो लडाइ जारी रहनेछ ।’
–एएफपीको सहयोगमा ।