काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।
इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र रीस जेम्सले एक एक गोल गरे ।
खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
बेल्जियमका फरवार्ड लुकाकुले जेम्सको पासमा डेब्यु खेलमै गोल गरेका हुन् । उनी हालै इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका हुन् ।

त्यसपछि खेलको ३५ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए । उनले मासन माउन्टको पासमा उत्कृष्ट गोल गरे ।
यस जितसँगै चेल्सीले लिगमा लगातार दोस्रो जित निकालेको छ । चेल्सीले २ खेलमा ६ अंक जोडेको छ ।
चेल्सी तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
आर्सनलको यो लगातार दोस्रो हार हो ।
१९ औं स्थानको आर्सनल पहिलो खेलमा ब्रेन्टफोर्डसँग पराजित भएको थियो ।
