एजेन्सी । इङ्लिस प्रियिमर लिग फुटबलमा आज (आईतबार) राति लण्डन डर्बीमा आर्सनल र चेल्सी भिड्दैछन् ।
आर्सनलको घरेलु मैदान इमिरेट्समा हुने खेल नेपाली समय अनुसार राती पौने ९ बजे सुरु हुनेछ ।
चेल्सीले महङ्गो मुल्य सहित क्लबमा फर्काएको रोमेलु लुकाकु केन्द्रमा रहनेछन् । उनी दोस्रो पटक चेल्सीबाट डेब्यु गर्न जादैछन् । उनी इन्टर मिलानबाट कीर्तिमानी मुल्यमा चेल्सी आएका हुन् ।
चेल्सीका एनगोलो कोन्टे चोटबाट मुक्त हुँदै मैदान फर्कन सक्छन् । कान्टे, हाकिम जियाच अभ्यासमा फर्किएका छन् । तर कोभिड–१९ का कारण क्रिस्टियन पुलिसिक मैदान बाहिर रहनेछन् ।
आर्सनलका पियरिक इम्रिक अबुमियाङ कोभिडबाट निको हुँदै मैदान फर्कन सक्नेछन् । तर कोभिडबाट संक्रमित एलेक्जेन्ड्रा लाकाजेट्टी अभ्यासमा फर्किएका छैनन् ।
विलियनलाई समेत संक्रमण देखिएका कारण चेल्सीविरुद्धको खेल गुमाउन सक्नेछन् । नयाँ खेलाडी मार्टिन ओडेगार्डले भिसाका कारण खेल्न पाउने छैनन् ।
आर्सनलले लिगको पहिलो खेलमा ब्रेन्टफोर्डसंग पराजय भोगेको थियो । चेल्सीले भने क्रिस्टल प्यालेसविरुद्ध ३–० को शानदार जित निकालेको थियो ।
अन्य खेलमा शानदार सिजनको सुरुवात गरेको म्यान्चेष्टर युनाईटेड साउथह्याम्टनको भ्रमणमा निस्कनेछ भने पहिलो खेलमा म्यान्चेष्टर सिटीलाई स्तब्ध बनाएको टोटेनहमले उल्भ्सको भ्रमण गर्नेछ ।