काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारले गोलकिपर रोशन गुरुङलाई अनुबन्ध गरेको छ ।
थ्री स्टारले आइतबार सामाजिक संजालबाट गोलकिपर रोशनलाई अनुबन्ध गरिएको जनाएको छ ।
थ्री स्टारले 'बी' डिभिजनको टुसाल युथ क्लबबाट गोलकिपर रोशनलाई अनुबन्ध गरेको हो ।
गोलकिपर रोशनले थ्री स्टारसँग दुई वर्षको सम्झौता गरेका छन् ।
सहिद स्मारक 'ए' डिभिजन लिगका लागि थ्री स्टारले रोशनलाई क्लब भित्र्याएको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
२२ वर्षीय गोलकिपर रोशनले पहिलो पटक शीर्ष डिभिजन लिग खेल्न लागेका हुन् ।

ओखलढुंगाका रोशनले सानोगौचरण युथ क्लबबाट फुटबल करियरको सुरुवात गरेका थिए ।
त्यसपछि उनले प्लानिङ ब्वाइजबाट 'सी' डिभिजन लिग खेलेका थिए ।
'सी' डिभिजनमा उत्कृष्ट प्रदर्शन गरेपछि रोशन टुसाल आएका थिए ।
गत सिजनको बी डिभिजन लिगमा उनले टुसालको गोलपोस्ट सम्हालेका थिए ।
'थ्री स्टारको एक हिस्सा बन्न पाउदा धन्य महसुस गरेको छु । फुटबल खेल्न थालेपछि यस क्लबको खेलाडी बन्ने सपना देखेको थिए,' सम्झौतापछि रोशनले भने, 'यस दिनका लागि मैले धेरै मेहेनत गरेको छु । कडा मेहेनत गर्दै आफुलाई प्रमाणित गर्नेछु । मलाई गर्वको अनुभूति भएको छ ।'
थ्री स्टारले यस अघि मिडफिल्डर आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।
यस्तै कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ,मिडफिल्डर सन्जोक राई, मनाग्य नकर्मी, निराजन महर्जन र निशान खड्कासँगको सम्झौता नवीकरण गरेको थियो ।