काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र लिड्सले बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार राति भएको खेलमा एभर्टन र लिड्सले २-२ गोलको बराबरी खेलेको हो ।
लिड्सको मैदानमा सुरुवाती अग्रता एभर्टनले बनाएको थियो ।
खेलको ३० औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।
तर,४१ औं मिनेटमा माथिउज क्लिचले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५० औं मिनेटमा डीमाराइ ग्रेले गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ७२ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै एभर्टनले २ खेलमा ४ अंक जोडेको छ ।
एभर्टन लिगको दोस्रो स्थानमा रहेको छ ।
१४ औं स्थानमा रहेको लिड्सले २ खेलमा १ अंक जोडेको छ ।
अर्को खेलमा एस्टन भिल्लाले न्युकासललाई २-० ले हराएको छ ।
क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन् ।