काठमाडौं । समाचार संस्था एपीको आधारमा हामीले इटालीको सिरी ए मा यसपल्टका सम्भावनाबारे चर्चा गरिरहेका छौं र यो त्यसको दोस्रो तथा अन्तिम भाग हो ।
यसअघि हामीले डिफेन्डिङ च्याम्पियन इन्टर मिलान र युभेन्ट्सबारे छोटकरीमा विश्लेषण गरेका थियौं, अब पालो तेस्रो टिम एसी मिलानको ।
यस्तो किन भन्दा उपाधिका लागि हुने त्रिकोणात्मक भिडन्तका अर्को एउटा पात्र यही हो । तर यसको अर्थ अन्य कुनै क्लबको सम्भावना नै छैन भन्ने पनि होइन । प्रत्येक सिजन प्रत्येक लिगमा कुनै न कुनै आश्चर्यजनक टिम हुने गर्छ र जसले सबै विश्वासलाई तोड्ने गर्छ । हामीले यसबारे पनि चर्चा गर्नेछौं ।
एसी मिलान
गत सिजन अधिकांस समय मिलान उपाधिका लागि बलियो प्रत्यासी थियो, तर अन्त्यमा उसले आश्चर्यजनक ढंगले त्यसलाई जित्न सकेन् । तर पनि क्लब सन् २०१३–२०१४ यता पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगमा फर्कन सफल रह्यो । पछिल्लो सिजनको बलियो सुरुआतका कारण ज्लाटन इब्राहिमोभिच थिए ।
तर उनलाई लागेको चोटसँगै उपाधिको सम्भावना पनि हराएर गएको थियो । अबको अक्टोबरमा उनी ४० वर्षमा हुनेछन् र मिलानको यसपल्टको लिग यात्रा धेरै हदसम्म उनमै निर्भर हुनेछ ।
मिलानमा यसपल्ट अर्का भेट्रान खेलाडी ओलिभर जिरोड पनि आएका छन् र उनको प्रदर्शनले पनि अर्थ राख्नेछ । मिलानले सोमबार साम्पडोरियाविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ ।

अरूको सम्भावना
फेरि एकपल्ट जोसे मोउरिन्हो इटाली फर्केका छन् । एक दशक अगाडि उनले इन्टरलाई एकै सिजन तीन उपाधि दिलाएका थिए ।
अहिले यी ५८ वर्षीय प्रशिक्षक रोमामा छन् । उनको मुख्य जिम्मेवारी हुनेछ, रोमालाई फेरि एकपल्ट उपाधिको प्रत्यासी बनाउने । गत सिजन रोमा लिगको सातों स्थानमा थियो र यो विजेता इन्टर भन्दा २९ अंकले पछाडिको स्थिति हो ।
सन् २००८ यता रोमाले कुनै उपाधि जित्न सकेको पनि छैन् । लाजियो र नेपोलीले पनि नयाँ प्रशिक्षक पाएका छन्, क्रमश: मउरिजो सारी र लुसियानो स्पालेटी ।
गत सिजनका शीर्ष सातमध्ये मिलान र एटलान्टाले मात्र प्रशिक्षक फेरेको छैन् । एटलान्टा एउटा बलियो क्लबका रूपमा विकास हुँदैछ र आफूलाई स्थापित गर्ने प्रयासमा हुनेछ ।