काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब च्यासल युथ क्लबले फुटबल एकेडेमी संचालन गर्ने भएको छ ।
फुटबल एकेडेमी संचालनका लागि च्यासलले कीर्तिपुरको पुष्प सदन बोर्डिङ स्कुलसँग सम्झौता गरेको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
च्यासलका अध्यक्ष रमेश ब्यन्जनकार र पुष्पसदन बोर्डिङ हाई स्कुलको तर्फबाट प्रिन्सिपल राम धन राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एन्फाका उपाध्यक्ष तथा ग्रासरुट तथा युवा संयोजक उपेन्द्रमान सिंहले एन्फाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौतासँगै एकेडेमी च्यासल-पुष्पसदन युथ फुटबल एकेडेमीको नामबाट संचालन हुनेछ ।

क्लबका ७ खेलाडी र स्कूलका ७ जना गरि जम्मा १४ जना खेलाडीहरु पहिलो वर्ष एकेडेमीमा सामेल हुनेछन् भने क्लबले दोस्रो वर्षमा अन्य सात जना खेलाडीहरु थप्दै कुल २१ खेलाडीलाई प्रशिक्षण दिने छ ।
यससँगै च्यासल एकेडेमी संचालन गर्ने विभाग बाहिरका छैटौं क्लब बनेको छ ।
यस अघि विभागीय क्लब त्रिभुवन आर्मी क्लब, एपीएफ , पुलिस क्लब तथा मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, न्युरोट टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले एकेडेमी संचालनको लागि सम्झौता गरिसकेको छ ।
एसियाली फुटबल महासंघ(एएफसी)को कार्यक्रम अनुसार मछिन्द्रले एकेडेमी संचालनमा ल्याउन लागेको हो ।