काठमाडौं । भोलि शनिबारबाट इटालीको सिरी ए सुरु हुँदैछ, डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले नै पहिलो खेल खेल्नेछ, जेनोआविरुद्ध । तर त्यसको ठीक अगाडि क्लबको स्थिति डामाडोल छ । एकातर्फ समर्थकहरूले लगातार विरोध गरिरहेका छन् भने अर्कोतर्फ क्लब आफै गम्भीर आर्थिक संकटमा रहेको छ ।
गत साता इन्टरले आफ्नो प्रमुख खेलाडी रोमेलु लुकाकु चेल्सीलाई बेच्नु पर्यो । उनलाई किन बेच्नु पर्यो भन्ने कुरामा क्लबभित्रै बाझाबाझको स्थिति बन्यो । क्लबका सीईओ सिपे मोराटा र नयाँ प्रशिक्षक सिमोन इन्जाघीबीच भनाभन भएको भनिएको छ । इटालीका मिडियाका अनुसार उनलाई बेच्नुमा सिधा कारण पनि छ ।

र यो हो, क्लबका चिनिया मालिक सुनिङले भने जति खर्च गर्न सकिरहेका छैनन् । क्लबले पछिल्लो पटक लिग जित्दाका अर्का प्रमुख खेलाडी राइट ब्याक अचरफ हाकिमी पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) तर्फ लागिसकेका छन् । क्लबको आर्थिक स्थिति कमजोर छ भनेर गत सिजन नै प्रस्ट भइसककेको थियो, त्यसैले त तात्कालीन प्रशिक्षक एन्टोनिया कोन्टेले पनि छाडे ।
टिमको आधारमा अझै पनि इन्टर कमजोर नै भइसको स्थिति पनि हैन, किनभने निकोलो बरेलाका रूपमा अझै ठूला स्टार छन् । उनी इटालीले युरो जित्दाका प्रमुख खेलाडी हुन् । लुकाकुकै स्थानमा एडिन जेको पनि आइसके । तर पनि स्थिति त पक्कै ‘आहा’ भन्न लायक छैन् । आखिरमा इन्टरले फेरि उपाधि जित्न यत्रो वर्ष लगायो, तर त्यसैलाई डिफेन्ड गर्ने बेला क्लब डामाडोल स्थितिमा छ ।
–एएफपीको सहयोगमा ।