काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारले मिडफिल्डर सञ्जोक राईसँगको सम्झौता नवीकरण गरेको छ ।
थ्री स्टारले बुधबार मिडफिल्डर सञ्जोकसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग र राष्ट्रिय लिग नजिकिदै गर्दा थ्री स्टारले सञ्जोकसँगको सम्झौता नवीकरण गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
२२ वर्षीय मिडफिल्डर सञ्जोकले पछिल्लो सिजन थ्री स्टारबाटै खेलेका थिए ।

राष्ट्रिय टिमबाट खेलिसकेका सञ्जोक साफ च्याम्पियनसिप खेल्ने टोलीमा भने छैनन् । बन्द प्रशिक्षणमा परेपनि सञ्जोक अन्तिम २८ टोलीले अटाउन सकेनन् ।
नेपालले गत चैतमा सम्पन्न थ्री नेसन्स फुटबलमा स्वर्ण पदक हात पार्दा उनी नायक बनेका थिए ।
उनले बैशाखमा भएको फ्रेन्चाईज फुटबल एनएसएलमा काठमाडौंबाट खेलेका थिए । एनएसएलको च्याम्पियन बनेको काठमाडौंका लागि सञ्जोकको प्रर्दशन उत्कृष्ट थियो ।
थ्री स्टारले यस अघि कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ,मिडफिल्डर मनाग्य नकर्मी र निशान खड्कासँगको सम्झौता नवीकरण गरेको थियो ।
यस्तै मिडफिल्डर आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।
थ्री स्टारले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।