काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा ५ देशले सहभागिता जनाउने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार १३ औं संस्करणमा ५ देशको सहभागिता रहने जनाएको छ ।
यस संस्करणमा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।
यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता रहेको छैन ।
भुटानले कोरोना महामारीको कारण देखाएको छ । पाकिस्तान फुटबल भने फिफाको निलम्बनमा रहेको छ ।
पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५ देखि २७) सम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ३ (असोज १७) मा खेल्नेछ ।
नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर ८ (असोज २२) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १० (असोज २४) मा खेल्नेछ ।
प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १३ (असोज २७) मा प्रतिस्पर्धा गर्ने छन् ।
साफ च्याम्पियनसिपको लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा पोखरामा तयारी गरिरहेको छ ।