काठमाडौं । उल्भ्स स्ट्राइकर राउल जिमिनेजले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेल पूरा ९० मिनेट खेले । खासमा उनी टाउकोमा लागेको गम्भीर चोटबाट मुक्त भएर नौ महिनापछि मैदानमा उत्रेका हुन् । लेस्टरविरुद्धको त्यस खेलमा उल्भ्स पराजित त रह्यो, सबैले जिमिनेजको तारिफ गर्न भने बिर्सेनन् ।
आर्सनलविरुद्धको खेलमा उनलाई चोट लागेको थियो । मष्टिकमा लागेको चोट वास्तवमै गम्भीर थियो । लेस्टरविरुद्धको खेलपछि उनले भने, ‘चोटबाट मुक्त भएपछि मेरो एक मात्र लक्ष्य फेरि मैदानमा फर्कनु थियो, किनभने मलाई यही काम मात्र मन पर्छ । चोटमै सीमित रहेर फुटबलबाट बिदा लिने मेरो कुनै सोच थिएन् ।’
उनकै भाषामा भन्दा टाउकोको त्यस चोटले उनको खेल जीवनमा पूर्ण विराम लगाउने सम्भावना उत्तिकै थियो । तर उनी बहादुर थिए, भाग्यमानी पनि थिए । त्यति मात्र होइन्, आत्मविश्वासी पनि थिए । त्यसैले अहिले मैदानमा फर्कन सफल भएका छन् । लेस्टरले १–० ले जितेको त्यस खेलमा जेमी भार्डीले निर्णायक गोल गरे ।

खेल सकेपछि भार्डी नै लेस्टरका त्यस्ता पहिलो खेलाडी थिए, जसले जिमिनेजलाई उनको बहादुरीका लागि बधाई दिए । त्यस खेलका क्रममा जिमिनेजले टाउकोमा सुरक्षात्मक ‘हेडगार्ड’ भने लगाएका थिए र त्यसलाई लगाएर खेल्दा उनलाई अहिले बानी पनि परिसकेको छ । तर सुरुमा ‘हेडगार्ड’ लगाएर खेल्न निकै गाह्रो थियो ।
संयोग कस्तो भने उल्भ्सको अबको खेल टोटनहमविरुद्ध रहेको छ । जिमिनेज घाइते हुँदा उल्भ्सका व्यवस्थापक थिए, नुनो सान्टो । अहिले उनी टोटनहममा व्यवस्थापक हुन् । उल्भ्समा छँदा सान्टो जिमिनेजको स्थितिलाई लिएर चिन्तित थिए र उनले आफूले सक्दो गरे पनि । अब जिमिनेजको खेल तिनै सान्टोको टोटनहमविरुद्ध रहेको छ ।

–बीबीसीको सहयोगमा ।