काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभियाले विजयी सुरुवात गरेको छ ।
आइतबार राति १० खेलाडीमा सिमित रायो भालेकानोलाई ३-० गोल अन्तरले पराजित गर्दै सेभियाले विजयी सुरुवात गरेको हो ।
घरेलु मैदानमा सेभियालाई जित दिलाउन एरिक लामेलाले दुई गोल गरे । युसुफ इन नेसरीले एक गोल गरे ।
खेलको १६ औं मिनेटमा लुका जिदानले रातो कार्ड पाएपछि रायो १० खेलाडीमा समेटियो ।
जिदानले सेभियाका ओउसामालाई पेनाल्टी क्षेत्रमा फउल गरेका थिए । जसको कारण घरेलु टोलीले पेनाल्टीको अवसर समेत प्राप्त गर्यो ।
उक्त पेनाल्टीमा युसुफले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाए ।

खेलको ५५ औं मिनेटमा लामेलाले गोल गर्दै सेभियालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा लामेलाले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई ३-० को सहज जित दिलाए ।
मिडफिल्डर लामेलाले ला लिगाको डेब्यु खेलमै दुई गोल गरेका हुन् । उनी यसै सिजन टोटेनहमबाट सेभिया आएका हुन् ।
यस जितसँगै सेभियाले पहिलो खेलमै ३ अंक जोडेको छ । रायो भालेकानोले हारबाट सिजनको सुरुवात गरेको छ ।