काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ ।
आइतबार राति रियल सोसीडाडलाई ४-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद सुरुवात गरेको हो ।
बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे । जेरार्ड पिके र सेर्जी रोबर्टोको नाममा एक एक गोल रह्यो ।
सोसीडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक एक गोल फर्काए ।

घरेलु मैदानमा खेलको १९ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बनाए ।
५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।
खेलको ८२ औं मिनेटमा जुलेनले गोल गर्दै सोसीडाडलाई ३-१ को स्थितिमा ल्याए ।

८५ औं मिनेटमा मिकेलले गोल गर्दा सोसीडाड ३-२ को अवस्थामा आयो ।
तर, खेलको इन्जुरी समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४-२ को जित दिलाए ।
जितसँगै बार्सिलोनाले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
सोसीडाडले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
