काठमाडौं । साविक विजेता एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ ।
आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले सुखद सुरुवात गरेको हो ।
एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले दुई गोल गरे । सेल्टाका इयागो आस्पसले एक गोल फर्काए ।
खेलको २३ औं मिनेटमा कोर्रियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५९ औं मिनेटमा इयागोले पेनाल्टीमा गोल गर्दै सेल्टालाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा कोर्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
खेलको इन्जुरी समयमा दुबै टिम १० खेलाडीमा समेटिएको थियो ।
एट्लेटिकोका मारियो हेर्मोसो र सेल्टाका हुगो माल्लोले रातो कार्ड पाएका थिए ।
यस जितसँगै एट्लेटिकोले पहिलो खेलमा ३ अंक जोडेको छ ।
सेल्टाले भने हार =बाट सिजनको सुरुवात गरेको छ ।