मानसिक रूपमा बलियो हुन चाहन्छन् भान डायक

काठमाडौं । खेल र खेलाडीसँग ठ्याक्कै जोडिएर आउने गर्छ, चोट । चोटले खेलाडी र टिमलाई कति साह्रो सताउने गर्छ, त्यसको सटिक उदाहरण त लिभरपुल नै हो ।
एक वर्ष इंग्लिस प्रिमियर लिग जितेर सनसनी मच्चाएको लिभरपुलले अर्को वर्ष उपाधिको फिटिक्कै रक्षा गर्न सकेन् र यसको प्रमुख कारण थियो, एकपछि चोटग्रस्त खेलाडी ।
यस्तै चोट बोकेर लामो समय मैदान बाहिर रहेका खेलाडी रहे, डच डिफेन्डर भर्जिल भान डाइक । गत सिजनको अक्टोबरमा उनी एभरटनविरुद्धको खेलमा घाइते भएका थिए, विपक्षी गोलरक्षक जोर्डन पिकफोर्डको ट्याकलमा । शनिबार मात्रै उनले मैदानमा पुर्नआगमन गरेका छन्, यस सिजनको पहिलो लिग खेलमा, नरविचविरुद्ध ।
उनले पूरा ९० मिनेटनै खेले र मीठो संयोगले लिभरपुलले ‘क्लिन सिट’ राख्न पनि सफल रह्यो । यसरी खेल्न पाएकोमा भान डाइक आफैमा निकै खुसी थिए ।
खेलपछि उनले भने, ‘मलाई अब धेरै खेल्नु छ । चोट बोकेर मैदान बाहिर रहनुको पीडा निकै गाह्रो हुन्छ । खेल भनेकै यही हो, एक दिन खेलाडी पूर्णत: फिट देखिन्छ, अर्को दिन चोटले अथाह पीडामा हुन्छ ।’
भर्खरै उनले लिरभपुलसँग नयाँ अनुबन्ध पनि गरेका छन् । त्यसको अर्थ अब उनी लामै समय लिभरपुलमा रहने छन् । उनी आफ्नो चोटलाई लिएर कति धेरै गम्भीर थिए भने यो फेरि बल्झिएला भनेर युरो २०२० पनि खेलेनन्, आफ्नो देशका लागि । सायद उनलाई अब त्यसको डर रहेन् र उनी मानसिक रूपमा बलियो हुन चाहन्छन् पनि ।
धेरै पल्ट दोहराएर भन्ने गरिन्छ, खेल फरवार्डको मदतले जितिन्छ, लिग चाहिं डिफेन्डरको मदतले । भान डाइकको उदाहरण यस भनाइमा अझ ठीक देखिन्छ । अब उनको पुर्नआगमनपछि पक्कै पनि लिभरपुल बलियो भएको छ र उसले लिग उपाधिका लागि चुनौती पेस गर्न सक्छ । भान डाइक आफै भन्छन्, ‘हाम्रो सम्भावना राम्रो छ ।’
–बीबीसीको सहयोगमा ।