काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर एभर्टनले जित निकालेको हो ।
एभर्टनलाई जित दिलाउन रिचार्लीसन, अब्दुलाए डुकुरे र डोमिनिक काल्भर्ट लेविनले एक एक गोल गरे ।
साउथह्याम्पटनका एडम आर्मस्ट्रोङले एक गोल फर्काए ।

खेलको २२ औं मिनेटमा एडमले गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाती अग्रता दिलाएका थिए । यसै सिजन क्लब आएका एडमले डेब्यु खेलमै गोल गरेका हुन् ।
तर, खेलको ४७ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ७६ औं मिनेटमा डुकुरेले गोल गर्दा एभर्टनले २-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८१ औं मिनेटमा डोमिनिकले गोल गर्दै एभर्टनलाई ३-१ को जित दिलाए ।
जितसँगै एभर्टनले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।
साउथह्याम्पटनले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
