काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र कप्तान किरण कुमार चेम्जोङ पोखरा फर्किएका छन् ।
फुटबल विवादको अनुसन्धान गर्न गठिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छानबिन समितिलाई बयान दिएर प्रशिक्षक अलमुताइरी र कप्तान किरण शुक्रबार पोखरा फर्किएका हुन् । नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्याय पनि बयान दिएर पोखरा फर्किएका छन् ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल हुनमा लागि व्यवस्थापक, प्रशिक्षक र कप्तान पोखरा फर्किएका हुन् । नेपाली टोलीले बुधबारबाट पोखरामा प्रशिक्षण गरिरहेको छ ।
एन्फा विवादका मुख्य पात्र रहेका प्रशिक्षक अलमुताइरी र कप्तान किरणले बिहीबार छानबिन समितिलाई बयान दिएका थिए । यस्तै एन्फा विवादका अर्का मुख्य पात्र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले पनि बयान दिएका थिए ।
मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणा गरेपछि एन्फा विवाद उत्कर्षमा पुगेको थियो ।

विवादमाथि राखेपको छानबिन समितिले अनुसन्धान गरिरहेको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशन अनुसार राखेपले छानबिन समिति गठन गरेर घटनाको अनुसन्धान गरिरहेको हो । राखेपले ७ दिनभित्र छानबिन समितिलाई प्रतिवेदन तयार गर्न अख्तियारी दिएको थियो ।
एन्फाको कार्यसमिति बैठकले घटनाको छानबिन गर्न मन्त्रालय गुहारेको थियो ।
छानबिन समितिले अनुसन्धानका लागि १४ जनासँग बयान लिएको छ । समितिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा सहित उपाध्यक्षद्धय वीरबहादुर खड्का, कृष्ण थापा, महासचिव इन्द्रमान तुलाधर सहित अधिकांश अधिकारीसंग बयान लिएको छ ।