एजेन्सी । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) सुरु हुँदैछ ।
इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा १६ हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ ।
आज दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । दुबै टोलीमा युवा र अनुभवी खेलाडीको सम्मिश्रण रहेको छ । तर, पछिल्लो नतिजा हेर्दा टर्कीविरुद्ध इटाली हाबी हुने अनुमान गर्न सकिन्छ ।
इटाली र टर्कीबीच हालसम्म ११ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा टर्कीले इटालीविरुद्ध जित निकाल्न सकेको छैन । दुई टिमबीच इटालीले ८ खेल जितेको छ भने तीन खेल बराबरीमा सकिएको छ ।
घरेलु मैदानमा इटाली आफ्नो सुनौलो इतिहासलाई दोहोर्याउन चाहन्छ । रोबर्टो मान्सिनीको टिम इटाली पछिल्लो आठ खेलमा अपराजित रहेको छ । टर्की भने पहिलो जित निकाल्दै इतिहास रच्न चाहन्छ ।
टर्की आफ्नो मुख्य खेलाडी सेन्क टुसेनबिना मैदान उत्रने छ । छनोटको शीर्ष गोलकर्ता चोटका कारण युरो खेल्ने छैनन् । लिलका ३५ वर्षीय स्ट्राइकर यिलमाजले टर्कीको नेतृत्व गर्ने छन् ।
इटालीका मिडफिल्डर लोरेन्जो पेल्लीग्रिनी चोटको कारण मैदान उत्रने छैनन् । तर, मार्को भेराट्टी चोटबाट मुक्त हुदै खेलमा फर्कने छन् । इटाली जर्जियो चेलीनीको कप्तानीमा मैदान उत्रने छ ।
युरोकपको उद्घाटनको प्लेयर्स टु वाचमा इटालीका मार्को भेराटी र टर्कीका लागि बुराक यिलमाज रहेका छन् ।
बुराक यिलमाज : टर्की
बुराक यिलमाज टर्कीका कप्तान हुन् । अनुभवी बुराक इटालीविरुद्ध टर्कीका मुख्य खेलाडी हुनेछन् । ३५ वर्षीय स्ट्राइकर बुराक व्यवसायिक फुटबल फ्रान्सको लिग वान क्लब लिल क्लबबाट खेल्ने गर्छन् । टर्की राजधानीमा जन्मिएका बुराक ६ फिट २ इन्चका रहेका छन् । टर्कीको उमेर समूहको १७, १८, १९, २० र २१ टोलीको समेत प्रतिनिधित्व गरिसकेका छन् बुराकले ।

पछिल्लो खेलमा नेदरल्याण्डविरुद्ध ह्याट्रिक पूरा गरेका बुराकले राष्ट्रिय टोलीबाट ६७ खेल खेल्दै २९ गोल गरिसकेका छन् । स्ट्राइकर बुराक फिनिसिङसँगै पेनाल्टी प्रकारमा शसक्त, लामा सट प्रहार गर्न र विपक्षी डिफेण्डरलाई सहजै बिट गर्न माहिर छन् । उद्घाटन खेलमा इटालीका डिफेण्डरलाई समेत बुराक टाउको दुखाईको बिषय बन्न सक्छन् ।
मार्को भेराट्टी : इटाली
टर्कीविरुद्ध इटालीका मार्को भेराट्टी महत्वपूर्ण खेलाडी हुनेछन् । २८ वर्षीय मिडफिल्डिर भेराट्टी व्यवसायिक फुटबल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट खेल्ने गर्छन् । इटालीको पेस्कारा शहरमा जन्मिएका भेराटी उमेर समूहमा यू-१९, २०, २१ हुँदै राष्ट्रिय टोलीसम्म यात्रा तय गरेका थिए ।

इटालीबाट ४० खेल खेलेका भेराट्टीले ३ गोल गरेका छन् । यता, पीएसजीबाट भने २२३ खेल खेल्दै ५ गोल गरेका छन् । उनी सन् २०१२ बाट पिएसजीमै रहेका छन् । मैदानकोबिच भागमा बल होल्ड गर्न, स्ट्राइकरसम्म पास उपलब्ध गराउन, लामा सट प्रहार गर्न भेराट्टी माहिर छन् ।