काठमाडौं । विश्वकप र एसिया कप छनोटका बाँकी खेल खेल्न राष्ट्रिय फुटबल टिम कुवेत आईपुगेको छ । कुवेत आउनु अघि नेपालले इराकमा घरेलु टिमसँग मैत्रीपूर्ण फुटबल खेल्यो । दुबै देश विश्वकप छनोटको तयारीमा छन् । मैत्रीपूर्ण खेललाई दुबै टिमले विश्वकप छनोटको तयारीको रुपमा लिए ।
इराक भ्रमण नेपाली फुटबल टिमका लागि फलदायीनै रह्यो । नयाँ प्रशिक्षकको नेतृत्वमा युवा टिमले इराकी भूमिमा राम्रो फुटबल खेल्यो । नतिजा खराब रहेपनि खेलाडीको प्रर्दशनले धेरैको मन जित्यो । नयाँ प्रशिक्षकको प्रभाव नेपाली टिममा देखियो । भलै खेलमा नेपाल इराकसँग ६–२ ले पराजित बन्यो । टिमले केही सामान्य गल्तीहरु गरे, त्यसको असर नतिजामा देखियो । सुरुवाती मिनेटमा इराकविरुद्ध प्राप्त २–१ को अग्रतालाई धेरैले प्रशंसा गरे । खेलाडीको आत्मविश्वास र प्रर्दशनको तारिफ गरे ।
एसियाको उत्कृष्ट टिमविरुद्ध नेपालको प्रर्दशनले सबैलाई लोभ्यायो । विश्वकप फुटबलको अनुभव बटुलेको इराकविरुद्ध नेपालको प्रर्दशन सुधारिएको देखिन्थ्यो ।
मैत्रीपूर्ण खेलमा टिमलाई गल्तीहरु गर्न छुट हुन्छ । यसमा जोखिम कम हुन्छ । नतिजाले खासै फरक पार्दैन । तर औपचारिक प्रतियोगितामा त्यसो हुदैन । मैत्रीपूर्ण र औपचारिक प्रतियोगिताको फरकनै यहीँ हो । नेपाली टिमको मुख्य परिक्षा कुवेतमा सुरु हुदैछ ।
इराकविरुद्धको खेलमा प्रशंसा बटुलेको नेपालले कुवतेमा कस्तो खेल्छ ? सबैको चासोको विषय छ ।

आखिर के हो त नेपालको कुवेत मिसन ?
नेपालले सिधै विश्वकप छनोटको दोस्रो चरण खेल्ने मौका पायो । समुहमा थिए, अष्ट्रेलिया, कुवेत, जोर्डन र चाईनिज ताईपे ।
फिफा वरीयतामा सबै राष्ट्र नेपाल भन्दा माथिल्ला स्तरका टोली हुन् । नेपालले छनोटका सबै अवे म्याच खेलिसकेको छ । ताईपेविरुद्ध २–० को जित बाहेक अष्ट्रेलिया, जोर्डन र कुवेतसँग नेपाल पराजित हुन पुग्यो । पहिलो अवे खेलमा कुवेतसँग ७–० ले पराजित नेपालले दोस्रो खेलमा ताईपेलाई २–० ले हराएको थियो । तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित नेपालले चौथो खेलमा जोर्डनलाई ३–० ले नतिजा सुम्पियो ।
दशरथ रंगशाला तयार नभएका कारण नेपालले आफ्नो पहिलो होम म्याच कुवेतसँग भुटानमा खेल्यो । कुवेत सबै सुविधा दिएर नेपाललाई घरेलु मैदानमा आमन्त्रण गरेर खेल्न चाहन्थ्यो । तर नेपालले होम खेल भुटानमा खेलाउने निर्णय गर्यो । पहिलो खेलमा ७–० को नतिजा निकालेको कुवेतले दोस्रो खेलमा भने १–० को जित निकाल्नै कठिन देखियो । भुटानको चिसो मौसमा कुवेतलाई गाह्रो परेको देखिन्थ्यो । अझ भुटानी समर्थकको साथ पाएको नेपालले कुवेतलाई हम्मेनै पारेको थियो ।

दशरथ रंगशाला तयार भएपछि नेपालले छनोटका बाँकी खेल घरेलु मैदानमा खेल्ने तय जस्तै थियो । यहीँ बीचमा कोरोनाको कहर सुरु भयो र तालिका प्रभावित बन्यो । कोरोनाले प्रभावित बनेको तालिकामा अन्तिममा कुवेतले बाजी मार्यो । उसले सबै देशलाई बिट गर्दै प्रतियोगिताका बाँकी खेल आफ्नै भुमीमा आयोजना गर्न सफल भयो । पर्याप्त पुर्वाधार र स्रोत भएको अवस्थामा प्रतियोगिता आयोजनाकै पहिलो अधिकार नेपाललाई थियो । विश्वकप छनोटका बाँकी खेल आयोजनाको जिम्मेवारी लिएर कुवेतले अन्तराष्ट्रिय फुटबल राजनीतिमा आफु बलियो प्रमाणित गरेको छ ।
नेपाल सहित जोर्डन, अष्ट्रेलिया र ताईपे समेत छनोटका बाँँकी खेल खेल्न कुवेतमा आईपुगेका छन् । विश्वकप छनोटको प्रतिस्पर्धामा रहेका सबै देशका आ–आफ्ना दाउ छन् । अष्ट्रेलिया, कुवेत र जोर्डन समूह विजेता र कम्तिमा उत्कृष्ट उपविजेताको रुपमा विश्वकप छनोटको तेस्रो चरण प्रवेश गर्न चाहन्छन् । नेपाल र ताईपे जस्ता साना देशले गर्ने प्रर्दशन र नतिजाले अन्य बलिया देशको भाग्य निर्धारण गर्छ । सोही कारण नेपाल र ताईपे जस्ता देशको प्रर्दशन र नतिजालाई लिएर समुहका अन्य देश सशंकित देखिन्छन् ।
विश्वकप छनोटको दोस्रो चरणको समूह बीमा नेपाल सहितका राष्ट्र छन् । नेपाल रहेको समुहमा अष्ट्रेलिया सबै भन्दा बलियो देखिन्छ । उसले ४ खेलबाट सतप्रतिशत जित निकालेर १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । कुवेत र जोर्डन समान ५ खेलबाट १०÷१० अंक जोडेर तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । सके समुह विजेता, नसके उपविजेताको रुपमा अघिल्लो चरण पुग्ने प्रतिस्पर्धामा कुवेत र जोर्डन देखिन्छन् । सोही कारण कुवेत र जोर्डनका लागि दोस्रो चरणका बाँकी खेल महत्वपूर्ण छ । समूहका अन्य दुई टोली नेपाल र ताईपेको जोड शीर्ष चार भित्र अटाउनु हुनेछ । किनकी प्रतियोगिता विश्वकप छनोट मात्र नभएर सन् २०२३ को एसिया कप छनोट समेत रहेको छ ।
चौथो स्थानमा रहदै एसिया कप छनोट खेल्ने सम्भावना कायम राख्न नेपाललाई समूहका बाँकी खेल महत्वपूर्ण छ ।
नेपालले पहिलो खेलमा आगामी बिहीबार ताईपेसँग खेल्दैछ । समुहको चौथो स्थानमा रहन नेपाललाई ताईपेविरुद्धको खेल महत्वपूर्ण छ । पहिलो चरणमा प्राप्त जितले समेत नेपालमाथि सकारात्मक नतिजाको थप दबाब छ । ताईपेलाई हराउँदै नेपाल एसिया कप छनोट खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ । सोही कारण नेपालले ताईपेविरुद्धको खेललाई निकै महत्वका साथ लिएको छ ।
नयाँ प्रशिक्षकको जिम्मेवारीमा रहेका अब्दुल्लाह अलमुइतारीले समेत पहिलो खेललाई लिएर निकै दबाबमा देखिन्छन् । युवा खेलाडीलाई समावेश गर्दै उनले वान टिम त बनाएका छन्, तर ताईपेविरुद्धको खेल गुमाउनु हुदैन भन्ने हेक्का उनलाई छ । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा उनले नयाँ खेलाडी प्रयोग गरे । प्रर्दशन देखाए तर नतिजा गुमाए ।

तर ताईपेविरुद्ध जितको दबाब उनीमाथि बढीनै देखिन्छ । उनले खेलाडीलाई ताईपेविरुद्ध बढीनै केन्द्रित गरेका छन् । सञ्चार माध्यममा बोल्न दिएका छैनन् । मिडियामा बोल्दा खेलाडीमाथि थप दबाब आउने उनी बताउँछन् । उनले छनोटको पहिलो खेलमै खेलाडीलाई ध्यान केन्द्रित गर्न सुझाएका छन् । यसबाट उनी दबाबमा रहेको अनुमान लगाउन सकिन्छ ।
नेपालले दोस्रो खेल सोमबार जोर्डनसँग खेल्नेछ । पहिलो खेलमा जोर्डनले घरेलु मैदानमा नेपाललाई हराएको थियो । नेपालले दशरथ रंगशालामा जोर्डनमाथि दोस्रो लेगमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्य राखेको थियो । तर कुवेती मैदानमा खेल्न परेपनि जोर्डनलाई स्तब्ध पार्ने लक्ष्यनै नेपाली टिमले बोकेको छ । स्पष्ट भाषामा जोर्डनविरुद्ध नेपाल अंक गुमाउन चाहदैन । जोर्डनविरुद्ध कुनैपनि हालतमा अंक लिने लक्ष्यमा नेपाल छ । जोर्डनविरुद्ध नेपालले अंक खोसेको खण्डमा प्रशिक्षक अलमुताईरीलाई दोहोरो खुसी मिल्नेछ । जोर्डनविरुद्ध अंक जोडेको अवस्थामा समूह चरणको समिकरणमा कुवेतलाई फाईदा पुग्नेछ । कुवेती प्रशिक्षक अलमुताईरी जोर्डनलाई स्तब्ध बनाउँदै दोहोरो खुसी मनाउन सक्दो कोशिश गर्नेछन् ।
नेपालले जुन ११ (शुक्रबार) विश्वकप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलियाविरुद्ध नेपाल नतिजा भन्दा प्रर्दशनमा जोड गर्नेछ । पहिलो लेगमा ५–० को हारको नतिजालाई सुधार गर्ने कोशिश नेपालबाट हुनेछ । अष्ट्रेलिया जस्तो बलियो टिमविरुद्ध जित निकाल्ने दाबी सापेक्ष त हुदैन । तर मैदानमा उत्कृष्ट खेल प्रर्दशन गर्दै छनोट प्रतियोगिताबाट सुखद बिदाई लिने प्रयास नेपालले गर्नेछ । जुन प्रयास नेपालले ईराक जस्तो बलियो टिमविरुद्ध गरेको थियो ।
अन्तिममा
विश्वकप छनोटको तेस्रो चरण पुग्ने नेपालको गणितिय सम्भावना छ । तर व्यवहारिक रुपमा नेपाल विश्वकप छनोटको अघिल्लो चरण पुग्न दाबी सापेक्ष देखिदैन । तर शीर्ष चारमा रहदै एसिया कप छनोट खेल्ने सम्भावना नेपालको प्रबल छ । कुवेती मैदानमा नेपालले गर्ने प्रयास एसिया कप छनोट खेल्नकै लागि हो ।
अब एसिया कप २४ राष्ट्रले खेल्छन् । विश्वकप र एसिया कप छनोटका समुह विजेता ८ टोली र उत्कृष्ट ४ उपविजेता सोझै एसिया कपमा छनोट हुनेछन् । एसिया कप खेल्ने बाँकी १२ राष्ट्रको छनोट भने समूहका उत्कृष्ट तेस्रो र चौथो टोलीबाट हुनेछ । पहिलो चरणमा जस्तै ताईपेलाई हराएको खण्डमा नेपाल चौथो स्थानमा रहदै एसिया कप छनोटको सम्भावना प्रवल बन्नेछ । त्यसैले कुवेती भ्रमणको मिसन नेपालका लागि विश्वकप छनोटमा बलियो उपस्थिती जनाउँदै एसिया कप छनोटमा आफुलाई उभ्याउनु रहेको छ ।

र अर्को कुरा नेपालले निकट भविष्यमा दक्षिण एसियाली क्षेत्रको साफ च्याम्पियनसिप फुटबल खेल्दैछ । नेपालले निकै प्रयासका बाबजुत साफ च्याम्पियनसिप जित्न सकेको छैन । विश्वकप छनोट र एसिया कप छनोटमा बलिया राष्ट्रसंग खेल्दै नेपालले साफ च्याम्पियनसिपका लागि आफुलाई तयार गर्दैछ । प्रशिक्षक अलमुताईरीले तयार पारेको युवा टिम समेत साफ च्याम्पियनसिप र एसिया कप खेल्नका लागि हो ।
मुख्य प्रशिक्षक अलमुताईरी खेलाडीमा एसिया कप खेल्ने सपना भरिरहेका छन् । तर उनलाई यो पनि थाहा छ, साफ च्याम्पियनसिप नेपाली फुटबलले तत्कालका लागि चाहेको उपाधि हो ।