एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ ।
घरेलु मैदानमा बिहीबार राति भएको पहिलो लेगमा युनाईटेडले इटालियन क्लब रोमालाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र एडिन्सन काभानीले दुई दुई गोल गरे । पाउल पोग्बा र मसान ग्रीनउडले एक एक गोल थपे ।
रोमाका लोरेन्जो पेल्लेग्रिनी र एडिन डेज्कोले एक एक गोल फर्काए ।

ओल्ड ट्राफोर्डमा नवौं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
तर, १५ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा ल्याए ।
३४ औं मिनेटमा डेज्कोले गोल गरेपछि पहिलो हाफमा रोमा २-१ ले अघि रह्यो ।
खेलको ४८ औं मिनेटमा काभानीले गोल गर्दै युनाईटेडलाई २-२ को बराबरीमा ल्याए ।
६४ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-२ को अग्रता दिलाए ।

खेलको ७१ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गरेपछि युनाईटेड ४-२ ले अघि रह्यो ।
७५ औं मिनेटमा पोग्बाले गोल गरेपछि युनाईटेडले ५-२ को अग्रता बनायो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई ६-२ को सानदार जित दिलाए ।

जितसँगै युनाईटेडले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
यस जितले युनाईटेडलाई दोस्रो लेगमा सहज हुनेछ ।
रोमालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
रोमाको मैदानमा हुने दोस्रो लेग मे ७ मा हुनेछ ।

