काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत बुधबार एफसी चितवनले बुटवल लुम्बिनी एफसीसँग २-२ गोलको बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो ।
बुटवलसँग बराबरीमा रोकिएपछि चितवनका मुख्य प्रशिक्षक मेघराज केसीले खेलको नतिजालाई फुटबलको मज्जाको संज्ञा दिए ।
'फुटबल भनेको यहिँ हो । मज्जा भनेको पनि यहिँ हो । अस्तिको खेलमा हामीले अर्काको अंक खोसेका थियौं । आज हाम्रो त्यहि भयो,' प्रशिक्षक केसीले भने, 'अंकको हिसाबमा दुई खेलमा ४ अंक गयो ।'
जर्ज प्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर, बुटवलका आशिष लामा र लक्ष्मण रुचालले गोल गरेपछि चितवन रोकिएको हो ।
प्रशिक्षक केसीले टिममा कमीकमजोरी रहेको तर आगामी दिनमा सुधार गर्ने समेत बताए ।
'टिम सेट हुँदैछ । कमीकमजोरी छ । अझै राम्रो गर्दै अर्को विषयमा सोच्ने छौँ,' उनले भने ।
प्रशिक्षक केसीले विकास खवास घाइते भएपछि जर्ज प्रिन्सलाई टिममा अनुबन्ध गरिएको बताए ।
'करिब ६ हप्ता विकास मैदान बाहिर बस्नुपर्छ । उसको ठाउमा जर्ज ल्याएको हो । खवासले गर्दा घाटा लाग्यो अर्को पोजिसनमा जर्जले न्याय गरे,' उनले थपे ।
बुटवल लुम्बिनी एफसीका प्रशिक्षक सनोज श्रेष्ठले चितवनविरुद्ध उत्कृष्ट कमब्याक गर्न असफल भएको बताए ।
'पहिलो हाफ डेफेन्सिभमा ग्याप भयो । लापरबाहीले दुई गोल भयो । त्यसपछि कम ब्याक राम्रो भयो । जित्नको लागि आएका थियौं, कमब्याकले बराबर गर्न सफल भयौं,' उनले भने ।