काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीसँग बराबरी खेलेको छ ।
बुधबार भएको खेलमा चितवनले बुटवलसँग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो ।
खेलको १५ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलबाट चितवनले अग्रता बनाएको थियो । गोरान जेर्कोभिचको पासमा जर्जले वान टचमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको १९ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २-० को अग्रता दिलाए । बुटवलका डिफेन्डरले क्लियर गर्न नसक्दा टेकले पोस्टको जाली चुमाएका थिए ।
तर, खेलको ३२ औं मिनेटमा आशिष लामाले गोल गर्दै बुटवललाई २-१ को स्थितिमा ल्याए । अर्मान्डको पासमा आशिषले डिबक्सको ठिक बाहिरबाट उत्कृष्ट गोल गरे ।

त्यसपछि खेलको ६५ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २-२ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए । चितवनका गोलकिपर कुलदिप कार्कीले अघि बढेर बल पन्च गर्दै बाहिर पठाएका थिए । तर, उक्त बल पुर्णरुपमा क्लियर नहुँदा अनमार्क रहेका रुचालले उत्कृष्ट गोल गरे ।
खेलमा चितवनका जर्ज प्रिन्स कार्की प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।
प्रोमोसिङ प्लेयर अफ दि म्याच बुटवलका लक्ष्मण रुचाल चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।

यस बराबरीसँगै चितवनले २ खेलमा २ अंक जोडेको छ ।
पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरी खेलेको थियो ।
बुटवलको यो पहिलो बराबरी हो ।
बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० ले हराएको थियो ।
बुटवलले २ खेलमा ४ अंक जोडेको छ ।
