काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चितवन एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
चितवन र बुटवलबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
भरत खवासको कप्तानीमा रहेको चितवन आज पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरी खेलेको थियो ।
यता, बुटवल भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।
विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० ले हराएको थियो ।
यस्तै दोस्रो खेलमा विराटनगर एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर र पोखराबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
रंजित धिमालको कप्तानीमा रहेको विराटनगर लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।
पहिलो खेलमा विराटनगरले धनगढी एफसीलाई ३-० ले हराएको थियो ।
नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखरा भने पहिलो जित निकाल्न चाहन्छ ।
पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग पराजित भएको थियो ।