काठमाडौं । धनगढी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो ।
१० खेलाडीमा सिमित धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे । यस्तै टंक बस्नेतले एक गोल गरे ।
जितपछि धनगढीका मुख्य प्रशिक्षक युगल किशोर राई खुसी देखिए । यस जितपछि आफ्नो टिम उपाधि दाबेदार रहेको प्रमाणित गरेको उनले बताए ।
'हामी उपाधिको दाबेदार पनि हो । हाम्रो टिममा राष्ट्रिय टोलिका मुख्य खेलाडी छन् । प्रशिक्षक तोपे फुजा पनि हुनु हुन्छ । व्यवस्थापन पनि राम्रो छ । सबै खेलाडी पोजेटिभ पनि छन्,' उनले खेलपछि भने ।
प्रशिक्षक राईले पहिलो खेलमा व्यहोरेको हारबाट पाठ सिकेको समेत बताए । जुन पाठले जित निकाल्न सफल भएको उनले बताए ।
'हामीले पहिलो तीन अंक पायौ । पहिलो खेलमा तीन अंक गुमाएका थियौ । आज हामीलाई जसरी पनि गोल गर्नु पर्छ भने थियो र गर्यौं,' उनले भने,'अस्तिको खेलबाट केही सिक्यो र आज त्यसलाई लागु गर्यौं ।'
पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३-० ले पराजित भएको थियो ।