काठमाडौं । पहिलो पटक आयोजना भएको फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुटबल लुम्बिनी फुटबल क्लबका मार्की खेलाडी हुन् गोलरक्षक विशाल श्रेष्ठ ।
टोलीका श्रेणी 'ए' का डिफेन्डर हुन् सुरज विक । तर, उनी अन्तिम समयमा चोट बोक्दै प्रतियोगिताबाट बाहिरिए ।
सुरजले चोट बोकेपछि मौका पाए डिफेन्डर विराज महर्जनले ।
राजकुमार तिमल्सिनाको स्वामित्वमा रहेको बुटबल लुम्बिनीसँग जोडिनु विराजको लागि भाग्य थियो । किनकी अक्सनमा विराज ‘अन्सोल्ड’ भएका थिए ।
उनको नाम अक्सन कर्ताले उच्चारण गर्दा सहभागी सम्पूर्ण टोलीको कोटा पूर्ण भएको थियो । विराज 'ए' श्रेणीमा थिए ।
विराज खेल्न नसक्ने भएर अनसोल्ड पक्कै भएका हैनन् । कति टोलीले उनलाई समावेश गर्न चाहँदा चाहँदै पनि किन्न सकेनन् ।
अक्सनमा विराजको नाम आउँदै गर्दा समकक्षी तथा स्ट्राइकर भरत खवाससँगै झण्डै क्लब फुटबलमा एक दशकसँगै रहेका मार्की खेलाडीहरु विशाल श्रेष्ठ लगायतको अनुहार निराश बनिसकेको थियो । अन्ततः विराज बिकेनन् ।
भरतले अक्सन लगत्तै भनेका थिए । ‘विराजलाई चाहेर पनि लिन सकिन ।’
भर्खरै सम्पन्न थ्री नेसन्स कपबाट राष्ट्रिय टोलीमा विदाई लिएका विराजलाई सुरज घाइते भएसँगै पहिलोपटक हुन लागेको फ्रेन्चाईज नेपाल सुपर लिग खेल्ने ढोका खुल्यो । मार्की खेलाडी समेत रहेका विशालले सुरुमै विराजको नाम प्रशिक्षक, मालिक र ब्यवस्थापक समूहकाबीच राखे ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा बुटबल लुम्बिनीले पोखरा थण्डर्सको सामना गर्ने कार्यक्रम थियो । टोलीले वार्म अप सुरु गर्याे । केहि समयमै ‘प्लेईङ सेट’ आयो । टोलीको कप्तानमा थिए विशाल श्रेष्ठ । विराज समेत प्लेईङ सेटमा थिए ।

सिनियर र राष्ट्रिय टिमको प्रतिनिधत्व हेर्दा विराजले कप्तानी पाउने अनुमान गरिएको थियो । तर, विशालको कप्तानीमा बुटवलले खेल खेल्यो ।
पोखराविरुद्ध २-० को जित निकाल्दै बुटवलले सुखद सुरुवात गर्यो । महत्वपूर्ण तीन अंक प्राप्त गर्यो ।
खेल अघि विराजलाई कप्तानी दिनेबारे छलफल भएको रहेछ । तर, विराज आफैले कप्तानीको जिम्मेवारीमा विशालको नाम अगाडी सारेका थिए ।
विराजले ‘टिम मिटिङ’मा प्रशिक्षक सनोज श्रेष्ठ, ब्यवस्थापक राजुकाजी शाक्य र टिम मालिकलाई कप्तानको लागि विशालको नाम सिफारिस गरेका थिए ।
‘विशाल कप्तानको लागि योग्य छ । त्यसैले नै मैले उसको नाम अगाडी सारेको हुँ,’ राष्ट्रिय टोलीबाट ७३ क्याप खेल्दै गत महिना संन्यासको घोषणा गरेका विराजले भने ।
विराज र विशाल घनिष्ठ मित्र हुन् । उत्तिकै नजिकका छन् । विगत एक दशक यता उनीहरु एकै क्लबबाट खेल्दै आईरहेका छन् । त्यसबीचमा उनीहरुले दुई क्लबलाई ए डिभिजनको लिग जिताए ।
सो क्रममा विशाल नियमित गोल पोष्ट सम्हाल्थे भने विराजले कप्तानीसहित रक्षापंक्ति समालिरहे । गत सिजन मछिन्द्र क्लबले पहिलो पटक 'ए' डिभिजन लिगको उपाधि जित्यो । टोलीका महत्वपूर्ण खेलाडी थिए यीनै विशाल र विराज । उनीहरुको साथमा थिए सुजल श्रेष्ठ र विशाल राई ।
त्यसअघि बिना रेलिगेशनको 'ए' डिभिजन लिगको उपाधि हात मनाङ मर्स्याङ्दीले जितेको थियो । त्यस सिजन समेत उनीहरु चारै जना टिमका महत्वपूर्ण खेलाडी थिए ।
तर फ्रेन्चाईज लिगसँगै यी चार खेलाडीको करिब दुई दशकको सहकार्य तोकिएको छ । चारै खेलाडी विभिन्न फ्रेन्चाईज शहरमा आबद्ध छन् ।
विराज र विशाल बुटबल लुम्बिनीमा रहँदा सुजल पोखरामा रहेका छन् । यस्तै विशाल राई भने धनगढी पुगेका छन् ।
केहि टोलीलाई हेर्ने हो भने सहभागी टोलीका मार्की खेलाडीले नै कप्तानी समालेका छन् । सोहि अनुसार विशालले पनि कप्तानी समाल्ने अवसर पाएका हुन् ।

विराज स्वयम पनि आफु टोलीमा पछिमात्रै समावेश भएको र मार्की खेलाडीको रुपमा विशालले नै कप्तानी समाल्न पर्ने बताउँछन् ।
‘म त मार्की खेलाडीको रुपमा मात्रै टोलीमा समावेश भएको हो । मैले अब आफुले मात्रै भन्दा पनि उसलाई पनि अवसर दिनुपर्छ भन्ने लाग्यो । उसले पनि केहि अनुभव बटुल्न पाउँछ । उ लायक पनि छ।’ विराजले भने ।
विराजले गत महिला नेपालमै आयोजना भएको थ्री नेसन्स कपबाट राष्ट्रिय टोलीबाट बाहिर रहँदै क्लब स्तरमा समय दिने बताएका थिए ।
विशाल राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । तर, उनले हालसम्म राष्ट्रिय टोलीबाट डेब्युको अवसर पाएका छैनन् ।
टोलीका मुख्य प्रशिक्षक सनोज श्रेष्ठ समेत विशालको कप्तानी राम्रो भएको र आपसी समझदारीमै उनलाई कप्तानी दिएको बताउँछन् ।
‘विराज हामी कोच स्टाफ, अफिसियलसबै बसेरनै विशाललाई कप्तानी दिएका हौं । उसको पहिलो कप्तानीमा राम्रो पनि भयो । कप्तानमा हुनपर्ने सबै गुण विशालमा छ ।’ प्रशिक्षक सनोज श्रेष्ठले भने ।
पहिलो खेलमा पोखरालाई पराजित गरको बुटवलले दोस्रो खेलमा एफसी चितवनको सामना गर्दैछ ।
