काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।
धनगढी र काठमाडौंबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
राष्ट्रिय टिमका कप्तान समेत रहेका गोलकिपर किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी पहिलो जित निकाल्ने योजनामा हुनेछ ।
पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३-० ले पराजित भएको थियो ।

तर, दोस्रो खेलमा धनगढी जित निकाल्दै उपाधि दाबेदारमा आफुलाई उभ्याउन चाहन्छ । धनगढी पहिलो अंकको खोजीमा समेत रहने छ ।
यता, काठमाडौं भने लगातार दोस्रो जितको योजनामा रहेको छ ।
राष्ट्रिय टिमका गोलकिपर विकेश कुथुको कप्तानीमा मैदानमा उत्रने काठमाडौंले पहिलो खेलमा ललितपुर सिटीलाई हराएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई १-० ले स्तब्ध बनाएको थियो ।

काठमाडौं आज लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लन समेत चाहन्छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने लिगमा कुल २५ खेल हुनेछ ।