काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को पहिलो चरणको खेल समाप्त भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनले आफ्नो पहिलो खेल खेलेसँगै प्रतियोगिताको पहिलो चरणको खेल सकिएको हो ।
शनिबार सुरु भएको प्रतियोगिता तेस्रो दिन चितवनले आफ्नो पहिलो खेलमा ललितपुर सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।
अन्य टोलीले पहिलो चरणको खेल समाप्त गर्दा ललितपुरले भने दोस्रो चरणको खेल सुरुवात गरिसकेको छ । उद्घाटनमा काठमाडौं रेजर्ससँग १-० गोल अन्तरले पराजित ललितपुर दोस्रो खेलमा अंक बाढ्न बाध्य भयो ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा ललिपुरले डिफेण्डर कमल श्रेष्ठको गोलमार्फत अग्रता बनायो । तर, इन्जुरी समयमा चितवनका डिफेण्डर अमित तामाङले पेनाल्टीबाट गोल गर्दै टिमलाई हारबाट जोगाए ।

पहिलो चरणको खेल सकिदा विराटनगर सिटी शीर्ष स्थानमा रहेको छ । पेपरमा बलियो मानिएको धनगढी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि दाबेदार रहेको प्रमाण पेश गरेको छ ।
तर, पहिलो चरणको खेल सकिदा विराटनगरले बलियो प्रस्तुत दिएपनि सबै टोलीको उपाधिमा उत्तिकै दाबेदारी रहेको चितवनका प्रशिक्षक मेघराज केसीको भनाई छ ।
‘पहिलो चरणमै कुन बलियो टोली र कुन कमजोर टिम भन्न सकिदैन ।’ एफसी चितवनका प्रशिक्षक केसीले भन्छन् , ‘पहिलो खेलबाटनै को बलियो र को कमजोर भन्न सक्ने अवस्था छैन । सबै टोली मैले एकैनाशको देखेको छु । उपाधि दाबेदारी बाकी खेलेले निर्धारण गर्छ । हाललाई धेरै गोल गरेकाले विराटनगर बलियो र धेरै गोल ब्यहोरेकोले धनगढी कमजोर देखिन्छ ।’

यस्तै दोस्रो स्थानमा बुटबल लुम्बिनी एफसी रहेको छ । पोखरा थण्डर्सलाई २-० गोल अन्तरले पराजित गरेको बुटबल समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।
उद्घाटनमा ललितपुरलाई पराजित गरेको काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । विराटनगर, बुटबल र काठमाडौं समान ३ अंक भएपनि गोल अन्तरका आधारमा क्रमशः तीन टोली पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका हुन् ।
यस्तै चितवन र ललितपुर सिटीको समान १–१ अंक रहेको छ । एक खेल खेलको चितवन चौथो स्थानमा रहँदा दुई खेल खेलको ललितपुर पाचौं स्थानमा रहेको छ ।
अंक जोड्न नसकेका पोखरा र धनगढी क्रमशः छैठौं र सातौं स्थानमा रहेका छन् ।
