काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरी खेलेका छन् ।
सोमबार भएको खेलमा ललितपुर र चितवनले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सुरुवाती अग्रता जोगाउन नसक्दा ललितपुरले चितवनसँग बराबरी खेलेको हो ।
ललितपुरका लागि कमल श्रेष्ठले गोल गरे । चितवनका अमित तामाङले बराबरी गोल फर्काए ।
बल पोसेसनमा ललितपुरले एकतर्फी पकड जमाएको थियो ।
खेलको १० औं मिनेटमा ललितपुरले गोलको सुनौलो मौका गुमायो । विमल रानाले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको बल चितवनका डिफेन्डरलाई लाग्दै बाहिरिएको थियो ।

लगत्तै ११ औं मिनेटमा कर्नरबाट आएको बलमा पाल्सङ लामाको हेडर बलले पोस्टको दिशा लिन सकेन ।
खेलको २१ औं मिनेटमा ललितपुरले पेनाल्टीबाट अग्रता बनाउने मौका पायो । तर, ललितपुरका कप्तान अन्जन विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।
अन्जनको पेनाल्टी प्रहार चितवनका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाऊ गरे । रिबाउन्डमा विमल रानाको प्रहार पनि विशालले उत्कृष्ट बचाऊ गर्दै चितवनको संकट टारेका थिए ।
चितवनका गोरान जेर्कोभिचले कर्नर बलमा निरज बस्नेतलाई लडाएपछि ललितपुरले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको ३५ औं मिनेटमा चितवनका भरत खवासको पेनाल्टी क्षेत्र भित्रको प्रहार पोस्टबारको थोरै माथिबाट बाहिरिएको थियो ।
खेलको ४९ औं मिनेटमा कमल श्रेष्ठले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । मैदानको दायाँ भागको २५ यार्डबाट कमलले टप कर्नरमा गोल गरेका थिए ।
५४ औं मिनेटमा नविन लामाको पासमा ललितपुरका विमल रानाको ६ यार्ड बक्स बाटको प्रहार चितवनका गोलकिपर विशालले बचाए । रिबाउन्डमा विमलकै अर्को प्रहार विशालले सहजै नियन्त्रणमा लिए ।
खेलको ६१ औं मिनेटमा गोरानको पासमा चितवनका पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल पोस्टको माथिबाट गएको थियो ।
खेलको ६५ औं मिनेटमा ललितपुरका नुर्लान जाहिदको पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल पोस्ट बारमा लागेर फर्किएको थियो ।
६८ औं मिनेटमा ललितपुरका कप्तान अन्जनको डिबक्सको ठिक बाहिरबाटको प्रहार चितवनका गोलकिपर विशालले डाइभ हान्दै बचाए ।
खेलको ८८ औं मिनेटमा एरिक विष्टको फ्रिकिक चितवनका गोलकिपर विशालले मुश्किलले बचाएका थिए ।
खेलको इन्जुरी समयमा चितवनले पेनाल्टी प्राप्त गर्यो । जसमा अमित तामाङले सहजै गोल गरे ।

अमितको प्रहार पेनाल्टी क्षेत्रभित्र रहेका ललितपुरका विनोद गुरुङले ह्याण्डबल गरेपछि चितवनले पेनाल्टी पाएको थियो ।
चितवनका गोलकिपर विशाल सुनार प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।
प्रोमोसिङ प्लेयर अफ दि म्याच ललितपुरका विनोद गुरुङ चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।
यस बराबरीसँगै ललितपुरले २ खेलमा १ अंक जोडेको छ ।
ललितपुरको यो पहिलो अंक हो । उद्घाटन खेलमा ललितपुर काठमाडौं रेजर्ससँग १-० ले स्तब्ध भएको थियो ।
चितवनले १ खेलमा १ अंक जोडेको छ । चितवनको यो पहिलो खेल हो ।

प्रतियोगिता अन्तर्गत भोलि (मंगलबार) एक खेल हुनेछ । दशरथ रंगशालामा हुने खेलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।
