काठमाडौं । फुटबल नेपालमा लोकप्रिय छ । तर यो आम मानिसको संस्कृति र जीवनशैली बन्न सकेको छैन । युरोपेली फुटलबको एउटा खस विशेषता भनेको फुटबल मानिसको जीवनशैलीसँग जोडिनु हो ।
तर, एसियासहित दक्षिण एसियामा फुटबल आम मानिसको जीवन संस्कृतिसँग मिलेको छैन ।
नेपाली फुटबललाई लिएर धेरैको बुझाई पनि यस्तै छ । यो आम मानिससँग जोडिन सकेन । यसले मानिसको जीवनशैलीलाई अंगिकार गर्न सकेन । अझ फुटबल हेर्न सजिलो रहेन । अखिर खेल मनोरञ्जनको साधन हो । तर, आम फुटबल प्रेमीले यो मनोरञ्जन लिन सकेनन् । आम मानिसको दैनिकीसंग मिल्ने गरि नेपाली फुटबल पनि चलेनन् ।
हरेक दिनको मध्यान्नमा सारा काम, धन्दा छाडेर को फुटबल हेर्न जान्छ ? फुटबल चल्ने समयलाई लिएर धेरैका प्रश्न हुन्थ्यो ।
फुटबल लोकप्रिय त छ । तर घरेलु फुटबलमा दर्शक विस्तारै हराउन थालेका थिए । लिगमा दर्शक देखिन छाडेका थिए । दर्शकलाई फुटबलसँग कसरी जोड्ने भन्ने खास योजनापनि त एन्फासँग थिएन । तर दर्शक बिना कुन खेलले फड्को मार्न सक्छ र ? खेलकुद व्यवसायीक हुने भनेकै दर्शकको उपस्थितीले हो ।
यो तथ्य बुझेको एन्फाले विस्तारै रात्रीकालिन फुटबलको सुरुवात गर्यो । पछिल्लो उदाहरण हेरौं न । थ्री नेसन्स कप फुटबल प्रतियोगिता एन्फाले रात्रीकालिन रुपमा आयोजना गर्यो । नेपाली समर्थकले फ्लड लाइटमा खासै फुटबल हेर्न पाएका थिएनन् ।
खासमा दर्शक बटुल्न यसो गरिएको थियो । गलत समयमा खेलाएर को दर्शक रंगशाला आउँछन् र ? रात्रीकालिन फुटबलको एक विशेषता भनेको दिनभर काममा व्यस्त भएका फुटबलका प्रशंसक आफ्नो धन्दा सकेर रंगशालासम्म तान्नुपनि हो । दर्शक आएपछि मैदानको रौनकै बदलिन्छ । अझ आयोजकको गोजी नि भरिन्छ । आखिर फुटबल भनेको खेल मात्र हैन, पैसा पनि त हो ।
एन्फाले काठमाडौंमा सुरु गरेका रात्रीकालिन फुटबलको प्रभाव पछिल्लो समय मोफसलमा देखिन थालेको छ । काठमाडौंमा छिटफुट देखिदै आएको रात्रीकालिन फुटबल परम्परा यस पटक भने दुई वटा मोफसल प्रतियोगितामा हेर्न मिल्यो ।
५ वर्ष अघि आयोजक विराट ट्रस्टले अस्थायी ‘फ्लड लाईट’ जडान गर्दै प्रतियोगिता सम्पन्न गर्याे । त्यस यता प्रतियोगितानै रोकियो । पाँचौ महिला साफ च्याम्पियनसिपको आयोजनापछि कस्सिएको विराटनगर महानगरपालिका र प्रदेश सरकारले शहिद रंगशालामा स्थायी ‘फ्लड लाईट’ जडान गरे । खेलकुदलाई प्राथामिकता दिने सवालमा विराटनगरपालिकाका मेयर र प्रदेश एकका मुख्यमन्त्री दिलदार देखिन्छन् ।
यता, सिमरामा समेत पहिलो पटक ‘फ्लड लाईट’ मा ११ औं संस्करणको जितपुर गोल्डकप आयोजना भयो । जडान बत्तिबाट मापदण्ड अनुसारको उज्यालोपन नआएपनि विराट गोल्डकप प्रतियोगिता भने सफलतापूर्वक सम्पन्न भयो । सिमरामा पनि मापदण्ड अनुसारको उज्यालोपन नभएपनि प्रतियोगिता उल्लासपूर्ण तरिकाले सञ्चालन भएको छ ।
सामान्यतया रातीमा फुटबल देखाउन अन्तराष्ट्रिय मापदण्ड अनुसार लाईट १२ सयदेखि १४ सय ‘लक्स’ चाहिन्छ । तर नेपालको एकमात्रै दशरथ रंगशालामा समेत एएफसीको मापदण्ड अनुसारको लाईट नभएको अवस्था छ । त्यो भन्दा विजोग मोफसलमा छ ।

मापदण्डलाई छाड्ने हो भने मोफसलमा समेत रात्रीकालिन फुटबल फस्टाउँदो छ । यसबाट खेल्ने, खेलाउने, हेर्ने सबैलाई फाइदानै भएको छ । आयोजकलाई दर्शक संख्या बढ्दा टिकटबाट राम्रै आम्दानी भएको छ । खेल्ने खेलाडीलाई तराईमा गर्मीमा खेल्नुभन्दा साँझमा खेल्न सहज हुनेनै भयो । हेर्ने दर्शकलाई समेत दिनभरको भागदौडबाट पार लाग्दै साँझमा आनन्दले फुटबलको मज्जा लिने मौका पाए ।
पछिल्लो समय स्थानीय सरकार, प्रदेश सरकारले खेलकुदमा सक्रियता बढाएका छन् । यसको प्रभाव पुर्वाधार निर्माणमा देखिएको छ । पछिल्लो समय विराटनगर र सिमरासँगै नुवाकोट, धरान, उदयपुर, पोखरामा समेत फ्लड लाईट जोड्ने तयारी हुदैछ । यसले मोफसलमा रात्रीकालिन खेलकुद थप फस्टाउँने अपेक्षा गरिएको छ ।
‘रातमा खेल भएसँगै दर्शकको पनि बाक्लो उपस्थिती रह्यो । सबैबाट राम्रो प्रतिक्रिया आएको छ । अरु प्रतियोगिता गर्नको लागि समेत हौसला बढेको छ ।’ आयोजक विराट ट्रसका सदस्य बसन्त अर्यालले खेलपाटीसँग भने ।
विराट गोल्डकप खेलेका एक खेलाडीले रात्रीकालिन फुटबलबारे भने, ‘रातीमा खेल हुँदा खेल्नेलाई पनि धेरै सहज हुन्छ । दिउँसो गर्मीले दुख दिन्छ । मौसम अनुकुल विराटनगरमा धेरै राम्रो थियो ।’
रातीमा खेल हुँदा दर्शक संख्या समेत बढ्दै जाने र आफुलाई पनि खेल्न प्रेरित हुने ती खेलाडी बताउँछन् ।
गोल्डकप आयोजक समेत रातिमा प्रतियोगिता हुँदा दर्शकहरुको बाक्लो उपस्थितीले खुसी छन् ।
‘रातीमा खेल हुने वित्तिकै दर्शकको बाक्लो उपस्थिती रह्यो । सायद समय अनुकुल राती खेल हुँदा सबैले ‘फ्रि’ भएर खेल हेर्न पाए ।’ एन्फा सह–महासचिव समेत रहेका अर्यालले भने ।

फ्लड लाईट थपिने
यसअघि विराट ट्रस्टले पहिलो पटक अस्थायी फ्लड लाईटमा प्रतियोगिता आयोजना गरेको थियो । त्यसमा जम्मा ५ सय ५० लक्स पावर रहेको थियो । त्यसलाई सुधार गर्दै स्थायी ‘फ्लड लाईट’ जोडेको प्रदेश सरकारले यस पटक बढाउँदै ८ सय ५० लक्स पुर्याएको छ ।
तर एएफसीको मापदण्ड हेर्ने हो भने यो पक्कै अपुग छ । जुन कुरा प्रत्यक्ष खेल हेर्नेले नि भोगेको छन् र आयोजक समितिले समेत त्यसलाई बुझेको छ । प्रदेश सरकारले त बुझ्नै पर्याे । ‘पक्कै पनि लाईट कम छ । हामी यसलाई थप्छौं । अब दुई पोल थप्दै मापदण्ड पुरा गर्छौ ।’ अर्यालले भने ।
मापदण्ड पुरा गरेसँगै आयोजकले अन्तराष्ट्रिय प्रतियोगिता गर्न सहज हुने र अन्तराष्ट्रिय प्रतियोगिताको लागि गृहकार्य सुरु गरिने बताएको छ । साथै आयोजकलाई यस फ्लड लाईट संरक्षणमा समेत चुनौती थपिएको छ ।
‘फ्लड लाईट पुरा भएसँगै हामी अन्तराष्ट्रिय खेल खेलाउन सक्षम हुन्छौं । त्यसका लागि हामी तयार पनि छौं । तर हामीलाई यसको संरक्षणमा निकै चुनौती रहेको छ । संरक्षणसँगै प्रतियोगिता धेरै भन्दा धेरै गराउन सक्यौं भने यसलाई दीर्धकालिन रुपमा जोगाउन सक्छौं ।’ अर्याल भन्छन् ।