काठमाडौं । विरगंज युथ एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा विरगंज युथले खालीबारी युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
विरगंजको जितमा आदित्य शाक्य र लक्ष्मण चौधरीले एक एक गोल गरे ।
जितसँगै विरगंजले ६ खेलमा १३ अंक जोडेको छ ।
विरगंज युथ लिगको सुपर सिक्समा समेत प्रवेश गरेको छ ।
खालीबारीले ६ खेलमा १० अंक जोडेको छ ।
'सी' लिग अन्तर्गत नै ओसिस क्लबले प्लानिङ ब्वाइज युनाईटेडलाई पराजित गरेको छ ।
ओसिसले प्लानिङलाई २-१ गोल अन्तरले हराएको हो ।
ओसिसको जितमा कृष्ण राना र विशाल पाण्डेले एक एक गोल गरे ।
प्लानिङका क्रिस सापकोटाले एक गोल फर्काए ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।