काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी पाकिस्तानको घरेलु महिला फुटबल लिग खेल्ने भएका छन् ।
राष्ट्रिय टोलीका नियमित सदस्य एन्जिला तुम्बाप्पो सुब्बा, गिता राना, अनिता केसी र सरु लिम्बुले पाकिस्तानको ‘राष्ट्रिय महिला वुमेन्स फुटबल च्याम्पियनसिप’ खेल्ने भएका हुन् ।
पाकिस्तान फुटबल फेडेरेशन (पीएफएफ) ले आयोजना गर्ने लिगमा चारै खेलाडीले मासा युनाईटेड फुटबल क्लबबाट खेल्ने टुंगो लागेको हो ।
प्रतियोगिताका लागि उनीहरु बिहीबार त्यसतर्फ जाने छन् । उनीहरु दुबई हुँदै पाकिस्तान पुग्ने छन् ।
चारै खेलाडीले भर्खरै सम्पन्न राष्ट्रिय महिला लिगमा एपीएफलाई अपराजित राख्दै उपाधि दिलाएका थिए ।
गोलरक्षक एन्जिला, डिफेन्डर गिता, मिडफिल्डर सरु र स्ट्राइकर अनिताले पहिलो पटक विदेशमा पुगेर प्रतियोगिता खेल्न लागेका हुन् ।
यस अघि स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेलेका थिए ।
सावित्रा र अनिताले दुई वर्ष अघि सेथु क्लबबाट खेल्दै टोलीलाई लिगको उपाधि दिलाए थिए । पछिल्लो सिजन अनितालाई सेथुमै छाड्दै गोकुलम पुगेकी सावित्राले टोलीलाई लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिईन् ।
सावित्रा र अनिता पछि महिला टोलीमा विदेशी क्लबको प्रतिनिधित्व गर्ने यी चार खेलाडी भएका छन् । चारै खेलाडी पाकिस्तानी घरेलु प्रतियोगिता खेल्ने पहिलो खेलाडी समेत हुनेछन् ।
प्रतियोगिता मार्च ८ बाट अप्रिल ३ सम्म कराचीमा आयोजना हुँदैछ । प्रतियोगितामा २० क्लबको सहभागीता रहनेछ ।
चार नेपाली खेलाडी सम्मिलित मासा युनाईटेड समूह 'बी' मा रहेको छ । प्रत्येक समूहमा पाँच टोली रहेका छन् ।
सन् २०१९ मा स्थापना भएको मासा युनाईटेडले महिला लिगमा गरेको प्रदर्शनको आधारमा चार नेपाली खेलाडीलाई टोलीमा आबद्द गरेको हो ।
चारै खेलाडीले पाकिस्तानमा प्रतियोगिता खेल्न आफुहरु उत्साहित भएको खेलपाटीलाई बताएका छन् ।
मासा क्लबले एन्फालाई खेलाडी पठाउन आग्रह गरेसँगै एन्फाले ४ खेलाडीलाई पठाउने तयारी गरेको थियो ।
एन्फा, राष्ट्रिय खेलकुद परिषद् राखेप, एपीएफ क्लब र गृह मन्त्रालयको सिफारिससँगै चार खेलाडी पाकिस्तानको घरेलु लिग खेल्ने टुंगो लागेको हो ।
खेलाडी उत्साहित -
पहिलो पटक विदेशी प्रतियोगिता खेल्न लागेका महिला खेलाडीले लिग खेल्न आफुहरु उत्साहित भएको बताएका छन् ।
खेलपाटीसँग बोल्दै खेलाडीले विदेशी लिग पहिलो अवसर अवसर रहेको र मेहनत गर्दै खेल्न तयार रहेको खेलपाटीलाई बताए ।
‘पहिलो पटक बाहिरको प्रतियोगिता खेल्दैछौं । निकै उत्साहित छु ।’ भर्खरै समाप्त भएको लिगमा ५ गोल गरेकी अनिता केसीले भनिन् ।
यस्तै गोलरक्षक एन्जिलाले पहिलो पटक पाएको अवसर पाएको र खेल्न पाउँदा निकै खुसी भएको जनाईन् ।
‘खेल्न पाएका छौं । खुसी छौं । उत्साहित पनि छौं ।’ राष्ट्रिय महिला लिगमा एक गोलमात्रै ब्यहोरेकी एन्जिलाले भनिन् ।