पोखरा । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करणमा विधागत उत्कृष्ट खेलाडीहरुले प्राप्त गर्ने ट्रफी बेलायतबाट आउने भएको छ ।
आयोजक सहारा क्लब पोखराले हरेक खेलको म्यान अफ दी म्याचसहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी बेलायतबाट आउने जनाएको छ ।
प्रतियोगितामा १० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, अनुशासित टोली र उत्कृष्ट प्रशिक्षकलाई प्रदान गरिने आकर्षक ट्रफी बेलायतबाट आउने छ ।
सहारा क्लब यूकेको सहयोगमा उक्त ट्रफी आउने भएको हो । त्यस गरी विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रदान गरिने मेडल समेत बेलायतबाट आउने छ ।
प्रतियोगिता चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने जनाएको छ ।

प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको टिकट शुल्क र पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन ।
गत वर्ष नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको थियो ।
गत वर्ष मनाङले १० लाख १ हजार प्राप्त गरेको थियो भने उपविजेता पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

प्रतियोगिता संञ्चालन गर्न अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ रहने बताइएको छ । प्रतियोगिता सञ्चालनबाट १ करोड ३० लाख १ हजार रुपैयँ अनुमानित आम्दानी हुने सहरा क्लबले विश्वास गरेको छ ।
क्याराभान गोल्ड कप सहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
प्रतियोगिताबाट बचत हुन आएको रकम आयोजक सहरा क्लबबाट संचालित सहरा फुटबल एकेडेमी संचालनमा खर्च गरिँदै आएको छ । हाल एकेडेमीको तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालक आश्रित रहेका छन् ।
क्लबले पोखरा १७ जिल्लामा २०७० सालदेखि बालकलाई आवसीयरुपमा निशुल्क स्वास्थ्य, शिक्षाको साथै फुटबल प्रशिक्षण समेत गराउँदै आएको छ।






