औबामियाङ चम्किदा आर्सनल अन्तिम १६ मा

एजेन्सी । प्रिमियर लिग क्लब आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा बेन्फिकालाई ३-२ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम १६ मा पुगेको हो ।
पहिलो लेगमा पोर्चुगिज क्लबसँग १-१ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ४-३ को जितसहित प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
ग्रीसको एथेन्समा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे । किएरण टीएर्नेको नाममा एक गोल रह्यो ।
बेन्फिकाका डिएगो गोनकाल्भेस र राफा सिल्भाले एक एक गोल फर्काए ।
खेलको २१ औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
खेलको ४३ औं मिनेटमा डिएगोले गोल गर्दै बेन्फिकालाई १-१ को बराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको ६१ औं मिनेटमा सिल्भाले गोल गर्दै बेन्फिकालाई २-१ को अग्रता दिलाए ।
तर, ६७ औं मिनेटमा किएरणले गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा औबामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाए ।













