काठमाडौं । विभागीय टिम एपीएफ क्लबले अपराजित रहदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ ।
शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफ अपराजित रहदै च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै अनिता केसीले एक गोल गरिन् ।
खेलको ४५ औं मिनेटमा सरुले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । उनले अनिता केसीको पासलाई सदुपयोग गरिन् ।
खेलको ८६ औं मिनेटमा अनिताले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाईन् । गोलकिपरको गल्तीमा अनिताले हेडमार्फत गोल गरेकी हुन् ।
त्यसपछि खेलको इन्जुरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को जित दिलाईन ।
आर्मीका गोलकिपर अन्जना राना मगर अघि बढेको अवस्थामा सरुले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेकी थिइन् ।
जितसँगै एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो ।
एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो ।
एपीएफले १२ खेलमा ३६ अंक जोड्यो ।
लिगको अन्तिम खेलमा पराजित आर्मी उपविजेता बन्यो ।
आर्मीले १२ खेलमा २६ अंक जोड्न सफल भयो ।
उपाधिसंगै एपीएफले १५ लाख प्राप्त गरेको छ ।
उपविजेता बनेको आर्मीले ८ लाख प्राप्त गर्यो ।
तेस्रो भएको नेपाल पुलिसले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख प्राप्त गरेका छन् ।
चन्द्रपुर नगरपालिकाले फेयर प्ले अवार्डसहित १ लाख ५० हजार प्राप्त गरेको छ ।
के भन्छन् प्रशिक्षक ?
आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले लक्ष्य उपाधि जित्ने भएपनि पहिलो खेलबाटै अंक गुमाउँदा उपाधिबाट बाहिर भएको बताए ।
हाम्रो कोशिस पहिलो हुने थियो । पहिलो खेलमा 'ड्र' हुँदा हामीलाई महँगो भयो ।'आजको खेलमा खेलाडीले सोचे जस्तो खेलेनन् । १५ मिनेट मात्र खेलाडीले राम्रो खेल्यो,' उनले भने, 'हामीले खेल्न नसकेर उनीहरुको राम्रो देखियो । हाम्रो धेरै कुरा सुधार गर्नु पर्ने भएको छ ।'
एपीएफकी प्रशिक्षक भगवती थापाले शतप्रतिशत जितसहित उपाधि जित्दा खुसी लागेको बताए ।
'शतप्रतिशत जितसहित उपाधि पाउदा सन्तुष्ट छु । तर, सावित्रा घाइते हुँदा दुखित छु,' उनले भनिन्, 'सावित्राको अभाव देखियो अघिल्लो खेलमा । तर, त्यसलाई सुधार गर्न पर्छ भनेर मोटिभेट दिदा नतिजा निस्कियो ।'