काठमाडौं । नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलको आफ्नो अन्तिम खेलमा सानदार जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार पुलिसले चौदण्डीगढी नगरपालिकालाई १०-० गोल अन्तरले पराजित गरेको हो ।
पुलिसको जितमा निरु थापाले ह्याट्रिकसहित ४ गोल गरिन् ।
यस्तै निर्मला बिकले ह्याट्रिक गरिन् । शुनकला राई र अमृता जैशीको नाममा एक एक गोल रह्यो ।
पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको तेस्रो मिनेटमा निरुले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् ।
खेलको छैटौं मिनेटमा निरुले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाईन् ।
खेलको ११ औं मिनेटमा निरुले ह्याट्रिक पुरा गरेपछि पुलिसको अग्रता ३-० को बन्यो ।
खेलको २८ औं मिनेटमा निरुले पेनाल्टीबाट व्यक्तिगत चौंथो गोल गर्दै टिमलाई ४-० को अग्रता दिलाईन् ।
३० औं मिनेटमा चौदण्डीकी सुजाता राईले आत्मघाती गोल गरेपछि पुलिसले ५-० को अग्रता बनायो ।
खेलको ३६ औं मिनेटमा निर्मलाले गोल गर्दै टिमको अग्रता ६-० को बनाईन् ।
पहिलो हाफको इन्जुरी समयमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले पहिलो हाफमा ७-० को अग्रता बनायो ।
खेलको ६१ औं मिनेटमा शुनकलाले गोल गर्दा पुलिस ८-० ले अघि रह्यो ।
खेलको ८६ औं मिनेटमा निर्मलाले ह्याट्रिक पुरा गर्दै पुलिसलाई ९-० को अग्रता दिलाईन् ।
त्यसपछि खेलको ९४ औं मिनेटमा अमृताले गोल गर्दा पुलिसले १०-० को जित निकाल्यो ।
यस जितसँगै पुलिसले लिगको सुखद अन्त्य गरेको छ ।
यस्तै पुलिसले लिगमा तेस्रो स्थान पक्का गरेको छ ।
पुलिसले १२ खेलमा १८ अंक जोड्दै तेस्रो स्थान हासिल गरेको हो ।
लिगमा तेस्रो भएको पुलिसले ५ लाख समेत प्राप्त गरेको छ ।
चौदण्डी भने लिगमा जित विहीन बनेको छ ।
चौदण्डीले १२ खेलमा १२ हार सहित पुछारमा रहेर लिग सकाएको छ ।
लिगको उपाधि एपीएफले यस अघि नै जितिसकेको छ ।