एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहमले सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा टोटेनहमले अष्ट्रियन क्लब वल्फ्सवर्गरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
वल्फ्सवर्गरको मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन, ग्यारेथ बेल, लुकास मोउरा र कार्लाेस भिनिसियसले एक एक गोल गरे ।
वल्फ्सवर्गरका माइकल लिइन्डिलले एक गोल फर्काए ।
अष्ट्रियन क्लबविरुद्ध टोटेनहमले १३ औं मिनेटमा सनको गोलबाट अग्रता बनाएको थियो ।
खेलको २८ औं मिनेटमा बेलले गोल गर्दै टोटेनहमको अग्रता २-० को बनाए ।

खेलको ३४ औं मिनेटमा लुकासले गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३-० ले अघि रह्यो ।
खेलको ५५ औं मिनेटमा घरेलु टोलीका माइकलले पेनाल्टीमा गोल गर्दै खेललाई ३-१ को अवस्थामा ल्याए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा कार्लाेसले गोल गर्दै टोटेनहमलाई ४-१ को जित दिलाए ।
यो जितसँगै टोटेनहमको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनेको छ ।
टोटेनहमले दोस्रो लेग २४ फेब्रुअरीमा घरेलु मैदानमा खेल्नेछ ।
अर्को इंग्लिस क्लब लेष्टर सिटी भने स्लाभियासँग गोलरहित बराबरीमा रोकिएको छ ।
