एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले लिभरपुलमाथि सानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई गोल गरे । रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक एक गोल गरे ।
लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

एनफिल्डमा खेलको ३७ औं मिनेटमा सिटीले पेनाल्टीको अवसर प्राप्त गर्यो । तर, फाबिन्होले सिटीका स्ट्रर्लिङलाई फउल गरेपछि पाएको पेनाल्टीमा गुण्डोगानले गोल गर्न सकेनन् ।
गुण्डोगानको पेनाल्टी प्रहार बाहिरिदा सिटीले पहिलो हाफमा गोलरहित बराबरी खेलको थियो ।
दोस्रो हाफमा उनै गुण्डोगान नायक बने । खेलको ४९ औं मिनेटमा गुण्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए ।
तर, ६३ औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो । रुबेन डियासले पेनाल्टी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सलाहले सहजै गोल गरे ।

खेलको ७३ औं मिनेटमा गुण्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।
खेलको ७६ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दा सिटीले ३-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ४-१ को सहज जित दिलाए ।
जितसंगै सिटीले २२ खेलमा ५० अंक जोडेको छ ।
सिटीले उपाधि होड समेत बलियो बनाएको छ ।
यस्तै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडविरुद्ध ५ अंकको अग्रता समेत बनाएको छ ।

लिभरपुलले भने २३ खेलमा ४० अंक जोडेको छ ।
चौंथो स्थानको लिभरपुल सिटी भन्दा १० अंकले पछि रहेको छ ।
सिटीसँगको हार घरेलु मैदानमा लिभरपुलको लगातार तेस्रो हार हो ।
लिभरपुल ६५ वर्षपछि घरेलु मैदानमा लगातार तीन हार व्यहोर्ने क्लब बनेको छ ।
यस अघि सन् १९५६ मा चेल्सीले लगातार तीन हार व्यहोरेको थियो ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा उल्भ्स र लेष्टर सिटीले गोलरहित बराबरी खेलेका छन् ।
