बाँके । स्वर्गिय सुजता राइ अधिकारी स्मृति फुटबल प्रतियोगितामा आयोजक रेसिङ्ग साहारा फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
बाँकेको कोहलपुरस्थित तेह्र बिगाहामा आईतबार भएको उद्घाटन खेलमा आयोजकको बी टिमले कैलालीको गौरिगंगा १ लाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । जसमा आयोजकले ५–४ ले बाजी मार्यो ।
खेलमा सुरुवाती अग्रता रेसिङ्ग साहाराले ३१ औं मिनेटमा निराजन शाहीको गोलमा लिएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमै समिर चन्दले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

रेसिङ्ग साहाराका कप्तान गोपाल खड्का म्यान अफ दी म्याच चुनिएका थिए ।
प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले गरेका थिए । उनले खेल क्षेत्रलाई नगरपालिकाले विशेष ध्यान दिने बताएका थिए ।
कार्यक्रममा आयोजक कमिटिका सदस्य नवकिरण शाहले पूर्व पदाधिकारी, समाजसेवी लगायत सहयोगी दातालाई दोसल्लाका साथ प्रशंसा पत्र वितरण गरेका थिए ।
प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछ । पहिलो खेलमा लर्डबुद्ध एकेडेमी कौशिलानगर र लायन्स युथ क्लब सुर्खेतबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा गेरुवा गाउँपालिका वर्दिया र जय किशन स्पोर्टस क्लब सैनिक भिड्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख २२ हजार, उपविजेताले ५१ हजार रुपैयाँ सहित उपाधि प्राप्त गर्ने आयोजक कमिटिका सदस्य नवकिरण शाहले बताएका छन् ।