काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब पराजित भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १-० गोल अन्तरले पराजित भएको हो ।
बलियो टिम पुलिसविरुद्ध वालिङलाई जित दिलाउन मेथो रुथले निर्णायक गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा क्यामरुनी खेलाडी रुथले निर्णायक गोल गरिन् ।
जितसंगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
वालिङले ७ खेलमा ११ अंक जोडेको छ ।
पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।
पुलिसको यो लगातार दोस्रो र प्रतियोगिताको तेस्रो हार हो ।
यस अघिको खेलमा पुलिस विराटनगरसँग पराजित भएको थियो ।
यस्तै पुलिसले लिग अन्तर्गत नै पहिलो चरणको खेलमा वालिङसँग १-१ गोलको बराबरी खेलेको थियो ।
महिला लिग अन्तर्गत सोमबार एक खेल हुनेछ ।
सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार एपीएफ र चौदण्डीगढी नगरपालिका भिड्ने छन् ।
के भन्छन् प्रशिक्षक ?
पुलिसका मुख्य प्रशिक्षक संजिब जोशीले डिफेन्सको गल्तिले पराजित भएको बताए ।
'खेल राम्रो भएको हो । तर, डिफेन्सको गल्तीमा गोल खायौं । पाएको मौकालाई सदुपयोग गर्न सकेनौं ,' उनले भने ।
वालिङका प्रशिक्षक दिलिप थापाले पुलिससँगको तीन अंकले खेलाडीमा हौसला मिलेको बताए ।
'जित्नै पर्ने खेल थियो । तीन अंकको दबाब थियो । अंक आयो । अबको खेलमा हौसला आउँछ,' उनले भने ।