काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस विराटनगर महानगरपालिकासँग १-० गोल अन्तरले पराजित भएको हो ।
विराटनगरको जितमा पार्वती घलेले निर्णायक गोल गरिन् ।
खेलको नवौं मिनेटमा पार्वतीले निर्णायक गोल गरेकी थिइन् । पुलिसको डिफेन्डरबाट बल खोस्दै पार्वतीले गोल गरेकी हुन् ।
खेलमा पुलिसले पनि गोलको अवसर पाएको थियो । तर, सदुपयोग गर्न सकेनन् ।
खेलको २० औं मिनेटमा निर्मला बिकको प्रहार पोस्टमा लागेर फर्कदा पुलिस निराश बनेको थियो ।
यस्तै ८७ औं मिनेटमा कप्तान घिम कुमारी गुरुङको फ्रिकिकमा अमृता जैशीको उत्कृष्ट हेड बल पनि पोलमा लागेर फर्किएको थियो ।
यससँगै विराटनगरले लिगमा तेस्रो जित हासिल गरेको छ ।
जितसंगै विराटनगरले ६ खेलबाट १० अंक जोडेको छ । विराटनगर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ ।
पुलिसले ६ खेलमा ८ अंक जोडेको छ । पुलिस लिगको चौंथो स्थानमा झरेको छ ।
लिगमा पुलिसको यो दोस्रो हार हो । यस अघि पुलिस एपीएफसँग पराजित भएको छ ।
यस हारसंगै पुलिस उपाधि होडबाट समेत बाहिरिएको छ ।
पुलिस र विराटनगरबीचको खेलसंगै लिगको पहिलो चरणको खेलहरु सकिएको छ ।
दोस्रो चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ ।
के भन्छन् प्रशिक्षक ?
पुलिसका मुख्य प्रशिक्षक संजिब जोशीले विराटनगरको हारपछि टिम उपाधि होडबाट बाहिरिएको बताए ।
'खेलाडी सोचेजस्तो खेल्न सकेन । पाएको अवसरमा पोलमा लाग्यो,' पहिलो चरणमा हाम्रो बिग्रियो । अब उपाधि सम्भव छैन । दोस्रो, तेस्रो स्थानको लागि खेल्छौं । उपाधिबाट हामी बाहिरीरियौ ।'
विराटनगरका मुख्य प्रशिक्षक पारस चौधरीले खेलाडीको मेहेनतले नतिजा सुखद निस्किएको बताए ।
'धेरै राम्रो भयो । चिताएको भन्दा राम्रो भयो । आजको जितमा खुसी छु । खेलाडीले मेहनत गरे । लिगमा हाम्रो लक्ष्य ३/४ स्थानमा रहने राखेको छु,' उनले भने ।