काठमाडौं । कोहलपुर ओपन क्रिकेट प्रतियोगिता पुष २० गतेबाट आयोजना हुने भएको छ ।
आयोजक शारदा एजुकेशन पार्कले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुष २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
प्रतियोगिताको व्यवस्थापन कोहलपुर क्रिकेट एकेडेमीले गर्नेछ ।
बीबी साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयरको प्रायोजन रहने प्रतियोगितामा देशभरका बिभिन्न शहरका टिम सहभागी हुनेछन् ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्ला सहित काठमाडौं, सुर्खेत जस्ता बिभिन्न स्थानका १६ टोली प्रतियोगितामा सहभागी हुने संयोजक विनायक गिरीले जानकारी दिए ।
प्रतियोगिता नकआउटका आधारमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
संयोजक गिरीले पछिल्लो समय कोहलपुर क्षेत्रमा क्रिकेट गतिविधि कम भएको कारण स्थानीय प्रतिभालाई एक्सपोजर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
गिरीले प्रतियोगितालाई प्रदेशकै उत्कृष्ट प्रतियोगिता बनाउने उद्धेश्य राखेको बताउँदै खेलमार्फत शहर चिनाउने अभियानमा आफुहरु लागेको उल्लेख गरे ।
प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खेलहरु कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।