एजेन्सी । स्पेनिस क्लब बार्सिलोना लगातार तेस्रो जित निकल्ने लक्ष्य सहित ला लिगा फुटबलमा आज (शनिबार) राति भ्यालेन्सियाबिरुद्ध खेल्दैछ ।
रोनाल्ड कोम्यान नेतृत्वमा बार्सिलोना ला लिगाका पछिल्ला दुई खेलमा जित निकाल्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
भ्यालेन्सिया ला लिगाको १२ औं स्थानमा छ । उसले यस सिजन ला लिगाका १३ खेल मध्य मात्र ३ खेलमा जित निकालेको छ ।
बार्सिलोना यस सिजन खराब लयबाट गुज्रिरहेको छ । उसले खेलिएका १२ मध्य आधा भन्दा बढी खेलमा अंक गुमाएको छ । उसले यस सिजन ४ खेलमा हार ब्यहोरिसकेको छ ।
क्याटलान क्लबले पछिल्ला ६ खेलमा ६ अंक बटुलेका छ । गत साता लेभान्तेलाई हराएको बार्सिलोनाले बुधबार राति रियल सोसिडाडविरुद्ध २–१ को जित निकालेको थियो ।
जोर्डी अल्बा र फ्रेन्की डी जोङले बार्सिलोनाका लागि गोल गरेका थिए ।
जित सहित बार्सिलोना तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । क्याटलान क्लब शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ६ अंकले पछि परेको छ ।
बार्सिलोनाका अंशु फाती, सर्जी रोबर्टो, जेरार्ड पिके, उसमान डेम्बेले शनिबार राति उपलब्ध हुने छैनन् । क्लबसंग चोटका नयाँ समस्या छैनन् ।
शनिबार रातिनै शीर्ष स्थानको एट्लेटिको मड्रिडले ईल्चलाई आतिथ्यता प्रदान गर्दा रियल सोसिडाड लेभान्तेको भ्रमणमा निस्कनेछ । ओसासुना र भिल्ला रियल तथा सेभिया र रियल भालाडोलिड समेत शनिबार रातिनै भिड्नेछन् ।