एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति ४ खेल हुँदैछ ।
तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसको भ्रमण गर्दैछ । लिग तालिकामा स्पष्ट तीन अंकको अग्रता लिएको एनफिल्ड क्लबलाई अग्रता बढाउने अवसर पनि छ ।
खेलाडीको चोटले थलिएको लिभरपुलसंग जोएल मटिप पनि रहने छैनन् । टोटनहमविरुद्ध प्राप्त जितमा समेत मटिप समावेश थिएनन् । लिभरपुलसंग चोट ग्रस्त खेलाडीको लामो लिस्ट छ । जसमा भर्जिल भान डिजिक, जोए गोमेज, थियागो अल्कान्टारा र डिएगो जोटा रहेका छन् ।
घरेलु टोली क्रिस्टल प्यालेस मुख्य फरवार्ड क्रिस्टियन बेनटेकबिनै मैदान उत्रनेछ । लिभरपुलका पूर्व खेलाडीले अघिल्लो खेलमा रातो कार्ड पाएका थिए । क्रिस्टलसंग नयाँ चोट ग्रस्त खेलाडीको सुचि छैन तर डिफेन्डर मामादौ सखो र नाथन फग्र्यूसन खेल्न तयार भैसकेका छैनन् ।
अर्को खेलमा प्रिमियर लिगको दाबेदार म्यान्चेष्टर सिटीले यस सिजन निकै लयमा रहेको साउथह्याम्टनको भ्रमण गर्दैछ । तेस्रो स्थानमा रहेको साउथह्याम्टनलाई तालिकाको दोस्रो स्थानमा उक्लिने अवसर छ तर उसले हेभीवेट मानिएको सिटीलाई शनिबार राति हराउनुपर्नेछ ।
सिटीलाई आतिथ्यता प्रदान गर्दै गर्दा साउथह्याम्टनका प्रशिक्षक राल्फ हसनहटलसंग पुरै टिम उपलब्ध हुनेछ । उनले सिटीविरुद्ध बलियो टोली मैदान उतार्न पाउनेछन् ।
सिटी भने मुख्य फरवार्ड सर्जियो अग्युरोबिनै खेल्न पर्ने हुन सक्छ । पछिल्ला हप्ता अभ्यासमा सहभागी नभएका चोट ग्रस्त अग्युरोमाथि सिटीले खतरा नमोल्न सक्छ । डिफेन्डर ईरिक ग्रासिया भ्रमण टोलीमा हुने छैनन्, अलेक्जेन्डर जिनचन्को अभाव समेत ईतिहाद क्लबलाई खट्किन सक्नेछ ।
अन्य खेलमा शीर्ष ५ को टिम एभर्टनले खराब लयबाट गुज्रिरहेको आर्सनललाई आथित्यता प्रदान गर्दा फुलहम भने न्युक्यासलको भ्रमणमा निस्कनेछ । फुलहम जित निकाल्दै रेलिगेशन जोन छाड्न प्रयासरत रहनेछ । तालिकाको १४ औं स्थानको न्युक्यासललाई अंक तालिकामा सुधार गर्ने अवसर छ ।