एजेन्सी । युसुफो मौकोकोले बुन्डेसलिगामा कीर्तिमानी गोल गरेको खेलमा बोरुसिया डर्टमण्ड भने पराजित बनेको छ ।
शुक्रबार राति युसुफोले बुन्डेसलिगामा गोल गर्ने सबैभन्दा कम उमेरको कीर्तिमान कायम गर्दा उनको टोली डर्टमण्ड भने युनियन वर्लिनसंग २–१ ले पराजित बन्यो ।
युसुफोले १६ वर्ष २८ दिनमा गोल गर्दै कम उमेरकोे गोलको कीर्तिमान कायम गरेका छन् । उनले फ्लोरियन वत्र्जको कीर्तिमान एक वर्ष र ६ दिनले तोडेका हुन् । खेलको ६० औं मिनेटमा युसुफोले गरेको गोलले डर्टमण्डलाई जोगाउन भने सकेन ।
ताईवो अवोनीले दिलाएको अग्रतामा घरेलु टोली वर्लिनका मार्विन फ्रेडरिकले विजयी गोल गरेका थिए ।

डर्टमण्डले खराब नतिजाका कारण हप्ता दिन अघिमात्र लुसियन फेवरेलाई बर्खास्त गरेको थियो । नवप्रवेशी क्लब स्टटगार्टसंग ५–१ ले पराजित बनेपछि उनलाई क्लबले बर्खास्त गरेको थियो ।
क्लबको नेतृत्व एडिन टेरजिकले अन्तरिम रुपमा सम्हालिरहेका छन् । अन्तरिम प्रशिक्षकको रुपमा पहिलो खेलमा जित दिलाएका उनले दोस्रो खेलमा भने पराजय ब्यहोरेका छन् । डर्टमण्डले यस सिजन ५ खेलमा हार ब्यहोरेको छ ।
डर्टमण्डले शीर्ष स्थानको बायर लिभरकुसनसंग अंक दुरी घटाउने मौका गुमाएको छ । डर्टमण्ड २२ अंक सहित तालिकाको चौथो स्थानमा छ । वर्लिन २१ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।