एजेन्सी । पाकिस्तानी तिव्र गतिका बलर मोहम्मद आमिरले अन्तराष्ट्रिय क्रिकेट छोड्ने घोषणा गरेका छन् ।
२८ वर्षका उमेरका तिव्र गतिका बलरले पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)माथि मानसिक यातनाको आरोप लगाउँदै क्रिकेट छाड्ने घोषणा गरेका हुन् ।
उनले यस अवस्थामा आफुले क्रिकेटलाई जारी राख्न नसक्ने बताएका छन् ।
आमिरले जुन २०१९ मा वर्कलोड मुद्धामा टेष्ट क्रिकेट छोड्ने घोषणा गरेका थिए ।
उनले पाकिस्तानी क्रिकेट बोर्डको ब्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै क्रिकेट छाड्ने निर्णय गरेका हुन् ।
आमिरले न्युजिल्याण्डमा चलिरहेको सिमिति ओभरको सिरिजमा आफुलाई बाहिर राखिएको बताए ।
उनले आफुलाई क्रिकेटबाट बाहिर राख्ने प्रयास भईरहेको आरोप लगाएका छन् ।
आमिरले भने, ‘जब मलाई २५ खेलाडीमा राखिएन । मलाई आफ्नो बाटो स्पष्ट गर्ने समय आएको छ । म आफ्नो भविष्य अरुमा हेर्नेछु ।’ उनले भने, ‘म क्रिकेटबाट टाढा गईरहेको छैन । मलाई क्रिकेटबाट टाढा बनाउने कोशिश भईरहेको छ ।’
पाकिस्तानी टिमबाट बाहिरिने बित्तिकै उनी श्रीलंकाली प्रिमियर लिगको उद्घाटन संस्करणमा भाग लिन श्रीलंका गएका थिए । बायाँ हाते बलरको टिम एलपीएलमा उपविजेता बनेको थियो । आमिरले ११ विकेट लिएका थिए ।
सन् २०१६ मा आमिरले अन्तराष्ट्रिय क्रिकेटमा फर्कदै पाकिस्तानको सिनियर क्रिकेटबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका थिए । सन् २०१७ मा च्याम्पियन्स ट्रफी जित्दा उनी टिमका नायक थिए । उनले फाईनलमा भारतको शीर्ष क्रमलाई ध्वस्त बनाउन १६ रन दिएर ३ विकेट लिएका थिए ।
आमिरले ३६ टेष्ट, ६१ एकदिवसीय र ५० टी–ट्वान्टी अन्तराष्ट्रियमा पाकिस्तानको प्रतिनिधित्व गरेका छन् । उनले २ सय ५० भन्दा बढी अन्तराष्ट्रिय विकेट लिएका छन् ।