काठमाडौं । लामो रिक्ततालाई तोड्दै नेपाल क्रिकेट संघ (क्यान)ले अष्ट्रेलिय प्रशिक्षक देव वाटमोरलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोर हाई प्रोफाईलका प्रशिक्षक मानिन्छन् ।
उनकै नेतृत्वमा श्रीलंकाले सन् १९९६ मा विश्वकपनै जितेको थियो ।
श्रीलंका, पाकिस्तान जस्ता देशलाई विश्व क्रिकेटमा बलियो बनाउन योगदान गरेका वाटमोरसंग नेपाली क्रिकेटको ठुलो अपेक्षा छ ।
टी–ट्वान्टी विश्वकप हुँदै एक दिवसीय मान्यता प्राप्त नेपाल टेष्ट राष्ट्रमा आफुलाई स्थापित गर्न चाहन्छ । तर आईसीसीको प्रतिबन्धबाट एक वर्षअघि मात्र फुकुवा भएको क्यान नयाँ प्रशिक्षकको खोजीमा थियो ।
वाटमोरले दिलाउने सफलतामा नेपाली क्रिकेटको भविष्य धेरै हदसम्म निर्भर रहनेछ ।
आखिर को हुन् त वाटमोर ?
देव वाटमोर विश्वको क्रिकेटमा प्रतिष्ठित नाम हो । यस नाम नेपालका लागि समेत नौलो हैन । सन् २०१७ मा ब्याट एण्ड बल फाउन्डेसनको सहकार्यमा वाटमोरले नेपाली टिमलाई २ हप्ता प्रशिक्षण दिएका थिए ।
श्रीलंकाका वाटमोरले अष्ट्रेलियाबाट क्रिकेट खेले । अष्ट्रेलियाका लागि ७ टेष्ट र एक एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका छन् ।
खेल जीवनमा खासै सफलता चुम्न नसकेका उनी प्रशिक्षण जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् ।
सन् १९९६ को समयमा क्रिकेटमा खासै सफलता हात नपारेको बेला श्रीलंकालाई विश्वकप जिताउन वाटमोरको ठुलो हात रह्यो । उनकै प्रशिक्षणमा रहेको श्रीलंकाको टिम विश्वविजेता बन्दा श्रीलंकाले क्रिकेटमा कोल्टे फेर्ने अवसर पायो ।
यस्तै तत्कालिन उदाउँदो राष्ट्र बंगलादेशलाई वाटमोर पहिलो टेष्ट क्रिकेट जिताउन सफल भए । सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक बनेका उनले जिम्बाबेविरुद्ध सन् २००५ मा बंगलादेशले पहिलो टेष्ट जितेको थियो । उनी प्रशिक्षक रहदा बंगलादेशले क्रिकेट जगतमा अप्रत्यासित नतिजा निकाल्दै आएको थियो ।
बंगलादेशले तत्कालिन क्रिकेटको शीर्ष टिम अष्ट्रेलियालाई पराजित गर्दै सनसनी नतिजा निकालेको थियो । यस्तै सन् २००७ मा अर्को पावर हाउस दक्षिण अफ्रिका र भारतलाई समेत बंगलादेशले पाखा लगाएको थियो ।
सन् २००७ मा वाटमोर भारतीय क्रिकेट र इंल्यान्ड क्रिकेट टिमको मुख्य प्रशिक्षकको दाबेदारको रुपमा उभिएका थिए । सन् २००८ मा वाटमोरले भारतको यू-१९ क्रिकेट टिमलाई विश्वकप जिताएका थिए । त्यस युवा विश्वविजेता टोलीका कप्तान विराट कोहली थिए र प्रशिक्षक वाटमोर ।
यस्तै सन् २०१० र ११ को आईपीएलमा काेलकता नाइट राइडर्सको प्रशिक्षक रहे । त्यस बाहेक उनी सन् २०१२ मा पाकिस्तान, सन् २०१४ मा जिम्बाबे र सन् २०२० मा सिंगापुरको राष्ट्रिय टोलीको प्रशिक्षक रहेका थिए ।
प्रशिक्षकको भूमिकामा आफ्नो कुनै कसुर नराखी इतिहास रच्दै आएका वाटमोरले हाल नेपालको प्रशिक्षक बन्न सफल भएका छन् ।