एजेन्सी । नेपालले सन् २०२१ को मार्चमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको हो ।
कोरोना माहामारीको कारण स्थगित भएको क्रिकेट विश्वकप लिग २ को तालिका आईसीसीले पुन: सार्वजनिक गरेको छ ।
तालिका अनुसार नेपालले मार्च १९ देखी २८ सम्म ओमानमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने छ ।
यस्तै, सन् २०२२ को फेब्रुअरीमा नेपालले घरेलु मैदानमा पीएनजी र युएईलाई आतिथ्यता गर्नेछ । यसअघि नेपालले सन् २०२१ जुलाईमा स्कटल्याण्डमा नामिबियासंग सिरिज खेल्ने छ ।
सन् २०२२ को जुलाईमा नेपाल अमेरिकाकाे भ्रमणमा निस्कने छ । जहाँ नेपालले अमेरिका र ओमानको सामना गर्नेछ ।
सन् २०२२ को सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म पीएनजीमा नेपालले खेल्नेछ । जहाँ युएई समेत सहभागी हुनेछ ।
सन् २०२३ मा समेत नेपालले नामिबिया र स्कटल्याण्डको आतिथ्यता गर्नेछ । लिग २ अन्तर्गत अन्तिम सिरिजमा नेपालले सन् २०२३ को फेब्रुअरीमा युएईमा, पीएनजी र युएईसंग खेल्दै लिग २ समापन गर्नेछ ।
कोरोना माहामारीको कारण स्थगित भएको लिग २ का थप ९६ खेलको तालिका आईसीसीले सार्वजनिक गरेको छ । खेलहरु सन् २०२१, २०२२ र २०२३ को सुरुवातमा समापन हुने गरि १४ सिरिजमा बिभाजन गरिएको छ ।
लिग २ का २१ त्रिदेशीय एकदिवसीय सिरिज पश्चात शीर्ष ३ राष्ट्रले आईसीसी क्रिकेट विश्वकप छनोटको लागि स्थान बनाउने छन् । पुछारमा रहेका ४ राष्ट्रले ग्लोबल छनाेटबाट आउँने राष्ट्रसंग विश्वकप छनोटको प्लेअफ़ खेल्नु पर्नेछ ।
नेपालले लिग २ अन्तर्गत गत फेब्रुअरीमा ओमान र अमेरिकासंग घरेलु मैदानमा सिरिज खेलेको थियो । घरेलु सिरिजमा नेपालले २ खेलमा जित हात पार्दा २ मा हार ब्यहोरेको थियो ।