चितवन । गौतमबुद्ध कप टी-ट्वान्टी प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा नारायणी टिमले राप्ती टिमलाई जितको लागि १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो ।
नारायणीका किशोर महतोले अविजित रहदै ३६ रन बनाए । उनले आक्रामक १४ बल खेल्दै ४ छक्का र २ चौका प्रहार गरे । यस्तै करन केसीले ३२ रनको गर्दा नारायणीले सम्मानजनक स्कोर बनाएको थियो ।
१३ औं ओभरमा ६ विकेट गुमाएर ६५ रन बनाएको नारायणीको पाली किशोर र केसीले उकासेका थिए ।
नारायणीका सुशन भारीले १८, रित गौतमले १३ र इशान पाण्डेले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
राप्तीका सुर्य तमाङ र अविनास बोहराले २/२ विकेट लिए ।
यी दुवै टोली यसअघिनै फाइनल पुगिसकेका छन् । फाइनल खेल मंगलबार हुनेछ ।