एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान शीर्ष स्थानको एट्लेटिको मड्रिडलाई यस सिजनको ला लिगाको दाबेदार टोली मान्छन् ।
मड्रिड डर्बीमा शनिबार राति एट्लेटिको र रियल भिड्दैछन् । खेलअघि रियल प्रशिक्षक जिदानले एट्लेटिकोलाई ला लिगाको मुख्य दाबेदार बताएका हुन् ।
डिएगो सिमोन नेतृत्वको एट्लेटिको ला लिगाका १० खेलमा अपराजित छ । उसले रियल मड्रिडसंग ६ अंकको अग्रता लिएको छ ।
दुवै टिम यसै साता च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
‘हामीले गत वर्ष लिग जित्यौ । हामी उपाधि रक्षा गर्न चाहन्छौ । यो हामी अन्तिमसम्म प्रयास गर्नेछौ ।’ जिदानले भने ।
‘हामी सबै खेल जित्न चाहन्छौ । विशेष गरी यो एउटा ठुलो खेलको रुपमा ।’ उनले थपे ।
‘उनीहरु तालिकाको शीर्ष स्थानमा छन् । उनीहरु सबै उत्कृष्ट चुनौती दिदै आएका छन् । हामी राम्रोसंग जानकार रहेका छौ ।’ जिदानले भने ।
रियलले बुधबार च्याम्पियन्स लिगको खेलमा कप्तान सर्जियो रामोसलाई टिममा स्वागत गरेको थियो । जिदानले मिडफिल्डर फेडरिको भाल्भर्डे र डिफेन्डर डानी कार्भाजल समेत मैदान फर्कन सक्ने बताए ।
रियल मुख्य खेलाडी इडेन हजार्ड, लुका मोड्रिच र मारियनो डियाच बिना मैदान उत्रनेछ ।
एट्लेटिकोमा समेत फरवार्ड डिएगो कोस्टा सहित डिफेन्डर जोसे जिमिनेज उपलब्ध हुने छैनन् । दुवै खेलाडी चोटका कारण उपलब्ध नहुने बताईएको छ ।
शनिबारै हुने अन्य खेलमा भ्यालेन्सियाले एथ्लेटिको बिल्बाओलाई आतिथ्यता प्रदान गर्दा सेभिया भने गेटाफेको भ्रमणमा निस्कनेछ । ह्युस्काले घरेलु मैदानमा आल्भेसलाई चुनौती दिनेछ ।