एजेन्सी । इंग्लिस क्लब आर्सनल शतप्रतिशत जित निकाल्दै युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा आयरल्याण्डको डुनडल्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्सनलले शतप्रतिशत जित निकालेको हो ।
डुनडल्कको मैदानमा १२ औं मिनेटमा एडवार्ड एनकेइटाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
खेलको १८ औं मिनेटमा मोहमेद एल्नेनीले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।
खेलको २२ औं मिनेटमा जोर्डन फ्लोरेसले गोल गर्दै डुनडल्कलाई २-१ को स्थितिमा ल्याए ।

६७ औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए ।
खेलको ८० औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दा आर्सनल ४-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८५ औं मिनेटमा घरेलु टोलीका सिन होआरेले गोल गरेपनि आर्सनल ४-२ ले विजयी भयो ।
जितसँगै समूह बी को आर्सनल ६ खेलमा १८ अंक जोड्यो । शतप्रतिशत जित निकालेको आर्सनल समूह विजेता समेत बनेको छ ।
डुनडल्कले अंक विहीन रहदै समूह चरणको अन्त्य गर्यो ।
यसै समूहको अर्को खेलमा मोल्डेले रापिड विनसँग २-२ गोलको बराबरी खेलेको छ ।
मोल्डे समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
मोल्डेले ६ खेलमा १० अंक जोड्यो ।